काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक एवं सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने माग दोहोर्याउनुभएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दुलालले प्रधानमन्त्रीले आफ्नो राष्ट्रहितविपरीतको भनाइ फिर्ता लिई संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको प्रस्ट पार्नुभयो।
बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सीमा विवादका अतिरिक्त अन्य राष्ट्रिय चासोका विषयमा पनि सरकारको कडा आलोचना गर्नुभयो।
भारतीय हेलिकप्टर र चिया निर्यातमा प्रश्न
सांसद दुलालले नेपाली आकाश र भूमिको सुरक्षामाथि प्रश्न उठाउँदै भन्नुभयो:
“भारतीय सेनाको हेलिकप्टर दार्चुलामा अनुमतिविना नै उडेको र अवतरण गरेको विषय सार्वजनिक भएको छ। यस गम्भीर घटनाबारे सरकारको आधिकारिक धारणा के हो? संसद्लाई जानकारी गराइयोस्।”
यसका साथै, नेपालको कृषि अर्थतन्त्रसँग जोडिएको चिया निर्यातमा भइरहेको अवरोध र यसले पारेको गम्भीर असरबारे सरकार किन उदासीन बनेको भन्दै उहाँले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानकर्षण गराउनुभयो।
‘प्रधानमन्त्रीले बिदा मनाइसके, अब जनताका समस्या सुन्नुस्’
सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै दुलालले प्रधानमन्त्रीले आफ्नो बिदा मनाइसकेको र ‘देश बनाउने’ भन्दै टोली समेत सार्वजनिक गरिसकेको अवस्थामा अब गफ मात्र नभई संसद्मा आएर जनताका जल्दाबल्दा समस्याको सीधा सामना गर्नुपर्ने बताउनुभयो। संसद् सुचारु गर्न विपक्षी दलहरू लचिलो भए पनि प्रधानमन्त्रीको गम्भीर त्रुटिलाई माफी नदिएको उहाँको भनाइ थियो।