काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक र व्यवस्थापकीय विवाद बढेपछि बागमती र मधेस प्रदेशसहित १३ जिल्लामा जारी अधिवेशन स्थगित गरिएको छ। अधिवेशनका क्रममा प्राविधिक त्रुटि र नेतृत्व चयनमा विवाद देखिएपछि निर्वाचन प्रक्रियालाई अस्थायी रूपमा रोकिएको हो।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले अधिवेशन रद्द नभई प्राविधिक र व्यवस्थापकीय कारणले केही समयका लागि मात्र स्थगन गरिएको जानकारी दिए।
“मतदाता नामावलीमा देखिएका प्राविधिक त्रुटि सच्याउन, करिब ४ सय जनाको समायोजन सूचीमा परेका उजुरी एवं विवादको उचित सम्बोधन गर्न र निर्वाचन समितिमा जनशक्ति थप गर्न निर्वाचन प्रक्रिया रोक्नुपरेको हो,” प्रमुख केसीले भने, “कार्य सम्पन्न हुनासाथ स्थगित अधिवेशन सुचारु हुनेछ। नयाँ मिति मतदान हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै सार्वजनिक गरिनेछ।”
नेतृत्वको होडबाजी र विवादको चुरो
निर्वाचन आयोगले व्यवस्थापकीय समस्यालाई मुख्य कारण देखाए पनि कतिपय जिल्लामा उम्मेदवार चयन र संगठनात्मक असन्तुष्टि नै स्थगनको मुख्य कारण रहेको नेताहरूको दाबी छ।
विशेष गरी बागमती प्रदेशको सभापति पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। बागमतीको नेतृत्वका लागि अच्युतम लामिछाने (नुवाकोट), उत्सव अर्याल (मकवानपुर), हरिबहादुर खत्री (रामेछाप) र कृष्णमान शाक्य (धादिङ) चुनावी मैदानमा छन्।
यता, मधेस प्रदेशका ८ जिल्लामध्ये पर्साबाहेक ७ वटा जिल्लामा नेतृत्व चयन प्रक्रियामा तीव्र विवाद भएपछि जेठ २८ गतेका लागि तय भएको मधेस प्रदेश अधिवेशन अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा स्थगित गरिएको छ।
कहाँ सकियो, कहाँ रोकियो?
वडा र पालिका तहको अधिवेशन सकेको रास्वपाले हालसम्म ६४ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ।
अधिवेशन सम्पन्न भएका क्षेत्र: कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरू।
विवादका कारण स्थगित भएका जिल्लाहरू (१३ जिल्ला):
मधेस प्रदेश (७ जिल्ला): महोत्तरी, रौतहट, सिरहा, धनुषा, सर्लाही, सप्तरी र बारा।
बागमती प्रदेश (१ जिल्ला): सिन्धुपाल्चोक।
गण्डकी प्रदेश (२ जिल्ला): मनाङ र मुस्ताङ।
कर्णाली प्रदेश (३ जिल्ला): हुम्ला, मुगु र डोल्पा।
असार पहिलो साता चितवनमा महाधिवेशन
पहिलो ऐतिहासिक महाधिवेशनको तयारीमा रहेको रास्वपालाई यतिबेला नेता र कार्यकर्ता व्यवस्थापनमा निकै चुनौती देखिएको छ। यद्यपि, अन्य प्रदेशहरूको अधिवेशन तालिका भने यथावत् राखिएको छ। जसअनुसार कोशी प्रदेशको अधिवेशन सुरु भइसकेको छ भने गण्डकीको जेठ २९, लुम्बिनीको जेठ ३०, कर्णालीको जेठ ३१ र सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गतेका लागि तोकिएको छ।
स्थापनाको ४ वर्ष पुगेको अवसरमा रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ। महाधिवेशनमा देशभरबाट कम्तीमा २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ भने निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउन ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ प्रयोग गर्नेबारे समेत छलफल भइरहेको छ।