२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री एवं सांसद भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमणलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। लामिछानेले दिल्ली भ्रमणका क्रममा नेपालको सीमा र कालापानीको विषयमा मौनता साधेको भन्दै उनले आपत्ति जनाएका हुन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता आङ्देम्बेले लामिछानेले सीमाको विषय ‘ढोल बजाएर छलफल गर्ने मुद्दा होइन’ भनी दिएको अभिव्यक्तिप्रति समेत कडा आक्रोश पोखे।
“दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ सम्म उच्चारण नगरी किन फर्किनु भयो?” आङ्देम्बेले प्रश्न गरे, “हामीलाई पनि थाहा छ ढोल बजाएर सीमाको समाधान हुँदैन। यसका आफ्नै कूटनीतिक मापदण्ड र प्रक्रियाहरू छन्, तर त्यहाँ कुरा नै नउठाउनु चाहिँ रहस्यमय छ।”
नेपाल-भारत सीमा विवाद र कालापानी जस्तो संवेदनशील राष्ट्रिय मुद्दामा जिम्मेवार राजनीतिक दलका नेताले विदेश भूमिमा पुग्दा कुरा उठाउन नसकेको भन्दै संसदमा उनको आलोचना भएको हो।