काठमाडौं, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्न जेठ २५ गते (आज) बिहान ९ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठक सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुन आमन्त्रण गरिएको छ।
“सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रण प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूमा पठाइसकिएको छ,” महामन्त्री बुर्लाकोटीले भने, “सबै दलबाट बैठकका लागि सहमति (कन्फरमेसन) समेत आइसकेको छ।”
यसअघि रास्वपाका प्रमुख सचेतक डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई फोन गरेर बैठकको सहजीकरणका लागि आग्रह गरेका थिए।