कलैया, बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला विस्तारित बैठकमा तीव्र विवाद उत्पन्न भएको छ। शनिबार बिहान ११ बजे कलैयास्थित करण पार्टी प्यालेसमा आयोजित बैठकमा विवाद बढ्दै गएपछि स्थिति तनावपूर्ण बनेको हो।
बैठकमा रास्वपाका सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, चन्दन सिंह र अरविन्द साह लगायतको उपस्थिति थियो। विवादका क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा चर्को भीडभाड र नाराबाजीबीच सांसदहरूलाई सुरक्षा दिएर हलबाट बाहिर निकालिएको देखिन्छ।
क्षमताबन्दा बढी भीड र आन्तरिक असन्तुष्टि
जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार बैठक हल सानो भएको र रास्वपा कार्यकर्ताहरूको उपस्थिति अत्यधिक हुँदा सुरुमा भीडभाडका कारण अव्यवस्था सिर्जना भएको थियो। प्रहरीले उनीहरूको आन्तरिक राजनीतिक विवादबारे विस्तृत जानकारी नभए पनि हाल स्थिति सामान्य भइसकेको जनाएको छ।
कारबाहीको असर: सर्राफ पक्षको आरोप
यस विवादको मुख्य जड पार्टीको आन्तरिक कारबाहीसँग जोडिएको छ। गत बुधबार मात्रै रास्वपाको संगठन विभागले बाराका तत्कालीन जिल्ला सभापति चन्दन सर्राफलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
जिल्ला अधिवेशन र विस्तारित बैठकको ठीक अगाडि आफूलाई षड्यन्त्रपूर्वक हटाइएको भन्दै सर्राफ पक्ष निकै असन्तुष्ट थियो। शनिबारको बैठकमा सर्राफ पक्षका नेता तथा कार्यकर्ताहरू पनि सहभागी थिए।
पूर्व जिल्ला सभापति सर्राफले संस्थापन पक्षले प्रहरी र गुण्डाको बल प्रयोग गरेर जिल्लाका संस्थापक नेता-कार्यकर्ताहरूलाई बैठकबाट लखेट्न खोजेको आरोप लगाएका छन्। उनले भने, “हामीमाथि बल प्रयोग गरिएपछि यस्तो परिस्थिति बनेको हो। अहिले हामी बैठक स्थलबाट बाहिरिएर सदरमुकाममा शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं।”
रास्वपाको यो घटनाले जिल्ला तहमा पार्टीभित्रको सांगठनिक असन्तुष्टि र गुटबन्दीलाई छताछुल्ल पारेको छ।