गायिका मिरा राणाको क्यान्सर संघर्ष सामाजिक अभियानमा रूपान्तरित

गायिका मिरा राणाको क्यान्सर संघर्ष सामाजिक अभियानमा रूपान्तरित

  • मङ्लबार, बैशाख १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 88.5K
    SHARES

लोकप्रिय गायिका मिरा राणाले आफ्नो व्यक्तिगत स्वास्थ्य संघर्षलाई सामाजिक अभियानमा परिणत गरेकी छन्। उनले आफ्नो अध्यक्षतामा ‘मिरा क्यान्सर समाज’ स्थापना गर्दै क्यान्सरविरुद्धको लडाइँमा सामूहिक सहकार्य र एकताको बाटो रोजेकी हुन्।

‘सेवा, सहयोग र सद्भावका साथ क्यान्सरविरुद्धको लडाइँमा हामी सबै एकसाथ’ भन्ने नाराका साथ मिरा राणाले यस समाजको स्थापना गरेकी हुन्। सात दशकदेखिको जीवन अनुभव र छ दशक लामो गायन करियर पार गरेकी मिराले क्यान्सरलाई जित्नका लागि परिवार, चिकित्सक र उपचारको वातावरणले ठूलो भूमिका खेल्ने बताइन्।

उनले भनिन्, ‘मलाई स्वास्थ्यमा समस्या भएपछि नेपालका विभिन्न स्थानमा परीक्षण गराएँ। तर उपलब्धि नभएपछि उपचारका लागि बेलायत गएँ। त्यहाँको डाक्टरले मेरो रिपोर्ट हेरेर मलाई हौसला दिँदै हामी सबै तपाईंको उपचारमा जुटेका छौँ भन्नुभयो। मेरो अपरेसनका क्रममा ६-७ जना डाक्टरले हामी छौँ नि भनेर मलाई साहस दिनुभयो। त्यो व्यवहारले आधा रोग हराएको अनुभव गरें।’

तर नेपालको परिप्रेक्ष्यबारे चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘मैले अधिकांश बिरामीलाई अस्पतालमा भोग्नुपरेको कठिनाइ देखेकी छु। विशेषगरी क्यान्सर प्रभावितले भोग्नुपरेको पीडा अपार छ। डाक्टरले मायाले हाँसेर एउटा “म छु है” भन्ने मात्र सन्देशले पनि बिरामीको आधा रोग निको हुन्छ।’

उनले चिकित्सकहरूसँग आग्रह गर्दै भनिन्, ‘बाहिर बिरामी धेरै भए पनि तपाईंहरू एक पटक बाहिर निस्केर मुस्कुराउँदै “म छु है” भनिदिनुहोस्। त्यसले बिरामीलाई अपार आत्मबल मिल्छ।’

कार्यक्रमका सञ्चारकर्मी तथा सल्लाहकार धन लामाले मिरा राणाले आफ्नो ठूलो सपना पूरा गरेको र यसलाई साकार पार्न सबैको सहयोग आवश्यक रहेको बताए। प्रमुख अतिथि एवं समाजका सल्लाहकार भक्तपुर क्यान्सर अस्पतालका निर्देशक रोशन प्रजापतिले मिराको जोश देखेर आफू उत्साहित भएको बताए। उनले क्यान्सरबाट बच्ने उपायबारे चर्चा गरे।

समाजकी सचिव हेमा मानन्धरले क्यान्सरपछि पनि जीवन फूल र फलको बाटोमा अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले समाज गठन गरिएको बताइन्। गीतकार तथा सल्लाहकार आनन्द अधिकारीले मिराले क्यान्सर समाजको थालनी गरेर एक ‘महायज्ञ’ सुरु गरेको र आफूहरू सहयोग गर्न तयार रहेको बताए। कलाकार मदनदास श्रेष्ठले आफ्नी छोरीलाई क्यान्सर भएर निको भएको अनुभव सुनाउँदै यस्तो संस्थाको आवश्यकता रहेको बताए।

पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले विदेशी संस्थाको सहयोगमा क्यान्सरका औषधिहरू निःशुल्क वितरण भइरहेको जानकारी दिँदै मिराको कामको प्रशंसा गरे। नेत्र विशेषज्ञ पूर्णीमा राजकर्णीकारले क्यान्सर बिरामीलाई हौसला आवश्यक रहेको र आफू आँखाको क्यान्सरको उपचारमा सक्रिय रहेको बताइन्। भक्तपुर क्यान्सर अस्पतालकी डा. सृष्टि श्रेष्ठ प्रजापतिले ‘रक्षा क्यान्सर केयर सोसाइटी’ मार्फत सेवा गरिरहेको र मिराको कार्यमा सहयोग रहने प्रतिबद्धता जनाइन्। पत्रकार विदुर गिरीले मिरा राणालाई सबैले साथ दिनुपर्नेमा जोड दिए। अधिवक्ता लक्ष्मण महर्जनले नेपालमा धेरै संस्था जन्मिए पनि टिक्न नसक्ने समस्या औंल्याउँदै संस्था सञ्चालनमा कानुनी पक्षमा ध्यान दिन सुझाव दिए।

कार्यक्रममा संगीतकार दीपक जंगम, गीतकार कपिल लोहनी, तिलगंगा आँखा अस्पतालका दिनेश पोखरेललगायतले संस्थालाई साथ दिने वाचा गरे।

समाजको उपाध्यक्षमा सिदार्थ राणा, कोषाध्यक्षमा सुरक्षा सिजापती, सचिवमा हेमा मानन्धर, सहसचिवमा नविना शाक्य रहेका छन्। सल्लाहकारमा गीतकार श्री पुरुष ढकाल, राजाराम पौडेल, मनोहर सुनामलगायत रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी