काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा सोमबार स्पष्टीकरण दिए पनि धेरै प्रश्न अझै अनुत्तरित नै रहेका छन्।
यो स्टोरीमा हामीले गृहमन्त्री गुरुङले आफ्नो स्पष्टीकरणमार्फत प्रस्ट पार्न नसकेका मुख्य पाँच प्रश्न केलाएका छौं।
१. सेयर खरिदको वास्तविक स्रोत के हो?
गुरुङले स्पष्टीकरणमा ‘ऋण लिएर सेयर किनेको’ दाबी गरेका छन्। उनले भनेका छन्, “मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो।”
तर प्रश्न यो हो कि उनले सम्पत्ति विवरणमा चार शीर्षकमा कुल ४ करोड ३१ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व देखाएका छन्। के यो सबै सेयर ऋण लिएरै किनेका हुन्? वा मिडियाले पत्ता लगाएको दुई कम्पनीको सेयर मात्र ऋणबाट खरिद गरिएको हो? यो प्रश्न अझै अनुत्तरित छ।
२. सम्पत्ति विवरणमा किन झुटो स्रोत देखाए?
गुरुङले आफ्नो सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत ‘व्यवसाय/पैतृक सम्पत्ति/लगानी’ उल्लेख गरेका थिए। तर आजको स्पष्टीकरणमा उनले ऋणबाट सेयर खरिद गरेको दाबी गरे।
यदि ऋणबाट नै सेयर किनेका हुन् भने सम्पत्ति विवरण भर्दा किन त्यो तथ्य लुकाए? ऋणको स्रोत स्पष्ट पार्नुपर्ने ठाउँमा किन व्यवसाय, पैतृक सम्पत्ति र लगानी भनेर फरक जानकारी दिए?
३. ऋणको विवरण किन खाली छाडे?
गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ‘ऋण लिए/दिए/तिरेको विवरण’ भर्ने ठाउँ पनि छ। तर यो ठाउँ उनले पूरै खाली छाडेका छन्।
अन्य मन्त्रीहरूले गाडी किन्दा लिएको सानो ऋणसमेत खुलाएको अवस्थामा गृहमन्त्री गुरुङले भने आफूले कसैलाई केही ऋण नतिर्नुपर्ने देखाएका छन्। तर आजको स्पष्टीकरणमा भने ऋणबाट सेयर किनेको बताए। यो विरोधाभासले प्रश्न जन्माएको छ।
४. ‘साधारण’ सेयर देखाए तर ‘संस्थापक’ सेयर धेरै?
गुरुङले सम्पत्ति विवरणमा सबै सेयर ‘साधारण’ रहेको देखाएका छन्। तर तथ्यगत रूपमा उनीसँग रहेको अधिकांश सेयर ‘संस्थापक सेयर’ हुन्।
होप होल्डिङ्स, लगुम प्रिमियम अपार्टमेन्ट्स, एड्भेन्चर भिल्ला प्रालि – यी तीनैवटा कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्। यी सबै संस्थापक सेयर हुन्। तर सम्पत्ति विवरणमा भने ‘साधारण सेयर’ देखाएर किन वर्गीकरण लुकाइयो?
५. दीपक भट्टसँगको व्यापारिक सम्बन्धबारे केही बोलेनन्
गुरुङले आफ्नो स्पष्टीकरणमा दीपक भट्टको नामसमेत उल्लेख गरेनन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका दीपक भट्टसँगको व्यावसायिक साझेदारीले नै धेरै शंका जन्माएको हो।
दीपक भट्टको पहलमा स्थापना भएका कम्पनीमा सुधन गुरुङको संस्थापक सेयर हुनुको अर्थ सामान्य लगानीभन्दा बाहिरको सम्बन्ध हो। तर उनले यसबारे केही बोलेनन्।
स्पष्टीकरणमा उनको दाबी र वास्तविकताबीच तीन विरोधाभास
पहिलो, गुरुङले भने – “स्टार र लिबर्टीको सेयर धितोपत्र बजारमा कारोबार हुने सेयरभित्र समेटिएको हो।”
तर वास्तविकता के छ भने, यी दुवै कम्पनी अहिलेसम्म आईपीओमा गएकै छैनन्। आईपीओमा नगएको कम्पनीको सेयर धितोपत्र बजारमा कारोबार हुँदैन। यो गुरुङको दाबी आफैंमा तथ्यहीन छ।
दोस्रो, उनले सम्पत्ति विवरणमा स्रोत ‘व्यवसाय/पैतृक सम्पत्ति/लगानी’ देखाए। तर स्पष्टीकरणमा ‘ऋण’ भने। यो स्रोतको विषयमा देखिएको स्पष्ट विरोधाभास हो।
तेस्रो, उनले सम्पत्ति विवरणमा ऋणको विवरण खाली राखे। तर स्पष्टीकरणमा ऋणको तमसुकको मितिसमेत सार्वजनिक गरे। यदि त्यो सत्य हो भने सम्पत्ति विवरणमा किन उल्लेख गरिएन?
रास्वपा मौन : अनुशासन आयोग किन सक्रिय भएन?
केही दिनअघि मात्र पूर्वश्रममन्त्री दीपक साहले पदीय दुरुपयोग गरेको भन्दै उनलाई बर्खास्त गरिएको थियो। त्यस आधारमा गृहमन्त्री गुरुङको सेयर प्रकरणमा पनि रास्वपाको अनुशासन आयोगले प्रश्न उठाउने अपेक्षा गरिएको थियो।
तर सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा गृहमन्त्रीको सेयर प्रकरणबारे कसैले कुरा नउठाएको स्रोतले बताएको छ।
पत्रकारहरूले रास्वपा प्रवक्ता मनिष झालाई प्रश्न सोध्दा उनले भने, “सबै कुरा प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय यी चार तहको हुन्छ। जुन कुराको प्रस्ताव र छलफल नै यथेष्ट भइसकेको छैन भने त्यसबारे निर्णय सुनाउँदै गर्न हुन्छ?”
गृहमन्त्री गुरुङको सेयर लगानीबारे रास्वपा अनुशासन आयोगले के गरिरहेको छ भन्ने जिज्ञासामा कार्यवाहक प्रमुख रमाकान्त रिमाललाई प्रश्न सोधिएको छ। गृहमन्त्री गुरुङलाई पनि यिनै प्रश्न सोधिएको छ। तर दुवैतर्फबाट कुनै जवाफ आएको छैन।