काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आज अदालत पेस गर्न लागेको छ ।
हिजो सार्वजनिक विदा परेकाले उनीहरूलाई प्रहरीले आइतबार अदालतमा पेस गर्न लागेको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गरिने छ ।
प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ ।
ओली पक्राउ पछि अस्पतालमा भर्ना भएका छन् र लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदनका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
एमालेले कानुनी र संवैधानिक आधार विना पक्राउ गरेको भन्दै सडकमा आन्दोलन शुरु गरेको छ ।