काठमाडौँ । काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु हुँदैछ । यो बैठकमा सभापति गगन थापाले दिएको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने निर्णय हुन सक्ने बताईएको छ ।
निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार शर्मालाई राजीनामा बुझाएका थिए ।
सभापतिले राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा त्यसलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था पार्टी विधानमा छ ।
बैठकमा उपसभापति शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ पेस गर्ने तयारी छ । सिंगो केन्द्रीय कार्यसमितिले सर्वसम्मतिबाट थापाको राजीनामा अस्वीकृत गर्ने सम्भावना रहेको एक पदाधिकारीले बताए । विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका कोही पनि छैनन् ।
पार्टी र आफू स्वयंले निर्वाचनमा हार बेहोरेपछि नै सभापति थापाले राजीनामा दिने मनस्थिति बनाएका थिए । उपसभापति शर्मासँग २५ फागुनमा भएको भेटमै थापाले राजीनामा दिने जानकारी गराएका थिए ।
सभापति थापाले राजीनामा पत्रमा आफ्नो निर्णय पराजित मानसिकताको उपज नभएर जिम्मेवारीबोधको अभिव्यक्ति रहेको उल्लेख गरेका छन् । सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उनले जनाएका छन् ।