चुनावमा पराजित भएकामा विचलित नहुन नेकपाका कार्यकर्तालाई बर्षमान पुनको अपील

चुनावमा पराजित भएकामा विचलित नहुन नेकपाका कार्यकर्तालाई बर्षमान पुनको अपील

  • शुक्रबार, चैत्र ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी -नेकपा) का नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पङ्क्तिलाई अपिल गरेका छन् ।

काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टकटकाएर अघि बढ्ने बताए । विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनःमूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने उनको भनाइ थियो । जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरूले गर्ने दाबी गरे ।

आफूहरू रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरूलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे । ‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरूमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । त्यसै गरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंस गर्नेको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो । हामी पुरानो हौँ, तर उस्तै खालका पुराना होइनौँ । हामीले अवस्था बदल्न कोसिस गरेकै हौँ । फेरि जनतामा जान्छौँ’, पुनले भने, ‘कुनै अहङ्कार, विचलन, निराशा होइन, शहीदहरूको बलिदानलाई आत्मसात् गर्दै नयाँ ढङ्गले धुलो टकटकाएर उठ्ने सङ्कल्प गर्नुपर्छ । १० वर्षे जनयुद्धका बेला पनि धेरैपटक ठुलठुला बलिदान, क्षति र हार भए । तर नेतृत्वले हार मानेन । हामीले हार मानेनौँ । हाम्रो अहिलेसम्मको विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली, तौरतरिकाहरूलाई एकपटक ठन्डा दिमागले पुर्नमूल्याँकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ ।’
जनताले निर्वाचनमार्फत नयाँ भनिएका दलहरूलाई अभिमत प्रकट गरेर पुराना दल तथा नेतृत्वमाथि आफ्नो कार्यशैली तथा तौरतरिका बदल्न खबरदारी गरेको उनले बताए । पुनले जनताले गरेको खबरदारीलाई सच्चिनका लागि दिएको अवसरका रूपमा ग्रहण गर्नुपर्ने स्पष्ट गरे ।

‘विचार, राजनीति, इतिहास केही नहुनेहरूले पनि आज आफूलाई नयाँ पार्टी झन्डै दुई तिहाइ प्राप्त गरेका छन् । जनताले उनीहरूलाई विश्वास गरेको छ । जनताको अभिमतलाई हामीले स्विकार्नुपर्छ । अर्कोतिर जनताले हामीलाई सच्चिनका लागि घचघच्याएको राम्रो अवसरका रूपमा लिनुपर्छ’, पुनले भने ।

कुनै बेला देशभर जम्मा ६० जना पूर्णकालीन कार्यकर्ता लिएर प्रचण्डले जनयुद्धको नेतृत्व थालेको स्मरण गर्दै उनले धेरै मानिसले जनयुद्धबाट परिवर्तन गर्छौैं भन्दा मूर्खता ठानेको चर्चा गर्दै त्यही जनयुद्धले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता उपलब्धि हासिल भएको बताए । ६० जनाले थालेको जनयुद्धमा हजारौँ किसान, मजदुर, बुद्धिजीवी र आमजनताले समर्थन गरेर ठुलो रूपमा लिएको भन्दै उनले फेरि रूपान्तरित भएर मुलुकको नेतृत्व लिने पार्टी निर्माणमा लाग्न सबैलाई अपिल गरे ।

आफ्ना संयोजक प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले १८ महिना भ्रष्टाचारविरुद्ध सशक्त रूपमा सुशासन अभियान चलाएको र सोही अभियान समातेर जेनजी नवयुवाहरुले २३ भदौमा आन्दोलन गरेको दाबी पुनले गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ