५ चैत, काठमाडौं । संघीय संसद्को अधिवेशन यही चैत १६ गते बोलाउने तयारी अघि बढेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ । योसँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन बोलाउनेबारे तयारी गरेको हो ।
बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । जहाँ प्रतिनिधिसभा सदस्यको शपथ र प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा छलफल भएको थियो ।
छलफलले नवनिर्वाचित सदस्यहरूको शपथ यही चैत १२ गते हुने तय गरेको छ । १२ गते बिहान साढे ११ बजे ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनेछन् । सोही दिन दिउँसो २ बजे ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् ।
त्यसपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । १३, १४ र १५ गते सरकार गठन र त्यससँग सम्बिन्धित कार्य हुनेछ ।