नुवाकोट ।
लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण कडीका रूपमा सम्पन्न निर्वाचनपछि नुवाकोट निर्वाचन क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले शालीन र मर्यादित व्यवहार देखाएका छन् । राजनीतिमा पदभन्दा माथि उठेर जनताको विश्वास र इमानलाई सर्वोपरी ठान्ने तामाङले संख्यात्मक नतिजा जे-जस्तो आए पनि यसलाई आफ्नो ‘नैतिक विजय’ का रूपमा स्वीकार गरेका छन् ।
विगत दुई दशकदेखि नुवाकोटको माटोमा भिजेर विकासका अधुरा सपना पूरा गर्न दत्तचित्त तामाङले निर्वाचनपछि जारी गरेको सन्देशमा कतै पनि प्रतिशोध वा गुनासोको गन्ध छैन, बरु छ त केवल कृतज्ञता र उच्च संस्कार ।
हितबहादुर तामाङ जति शालीन छन्, उनको व्यवहार पनि उस्तै इमानदार र पारदर्शी रहेको स्थानीय मतदाताहरूको अनुभव छ । राजनीतिलाई राष्ट्रिय स्वाधीनता र समृद्धिको पवित्र माध्यम मान्ने तामाङले भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नै आचरण र व्यवहारबाट प्रमाणित गर्दै आएका छन् । पदमा रहँदा होस् वा नरहँदा, उनले सधैँ नुवाकोटको शिर उँचो राख्ने गरी कार्य गरेको विपक्षी पार्टीकै कार्यकर्ताहरू बताउँछन् ।
तामाङको चुनावी अभियान कुनै बाह्य प्रलोभन वा शक्तिमा आधारित थिएन । उनलाई प्राप्त जनसमर्थन सांगठनिक र भावनात्मक थियो । मतदाताहरूले आफ्नो सानो बचत चुनाव खर्चका रूपमा उनलाई सुम्पिनु र युवा स्वयंसेवकहरूले सामान्य खाजा खाएर दिनरात खटिनुले तामाङप्रति जनताको कति गहिरो श्रद्धा छ भन्ने स्पष्ट पारेको छ । उनले भनेका छन्, “तपाईंहरूले दिनुभएको त्यो सहयोग केवल चन्दा थिएन, त्यो त मेरो इमानप्रतिको गहिरो विश्वास र विशुद्ध आत्मदान थियो ।”
निर्वाचनमा विजयी उम्मेदवार डा. विक्रम तिमल्सिनालाई तामाङले खुल्ला हृदयले बधाई दिँदै उज्ज्वल कार्यकालको शुभकामना दिएका छन् । आफू एउटै क्षेत्रको बासिन्दा भएको नाताले यस क्षेत्रको विकास र जनताको आशा पूरा गर्न आफ्नो सदैव सकारात्मक सहकार्य रहने उनको प्रतिबद्धता छ । राजनीतिक बाटो फरक भए पनि ‘समृद्ध नुवाकोट’ को साझा लक्ष्यमा आफू अडिग रहने र साथमा रहने उनले स्पष्ट पारेका छन् ।
“म पदमा रहूँ वा नरहूँ, नुवाकोटको माटो र यहाँका आत्मीय मानिसहरूको सुखदुःखमा सदैव सँगै रहनेछु । मेरो जनसेवाको यात्रा यहाँ रोकिएको छैन, म अझ परिष्कृत र दृढ भएर तपाईंहरूकै माझमा रहनेछु ।”
तामाङको यो सकारात्मक शैलीले लोकतन्त्रमा विपक्षीको भूमिका कति गरिमामय हुन सक्छ भन्ने एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।