काठमाडौं, फागुन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।
६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।
यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।
१७ वर्षको उमेरमै २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिएर राजनीतिमा प्रवेश गरेकी उनी २०७४ सालमा स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनिन् । त्यसबेला उनी २२ वर्षकी थिइन् ।
उक्त निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरिन् र तेस्रो भइन् । त्यसबेला काठमाडौं महानगरको मेयरमा भने नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भए । त्यो चुनावले रञ्जुलाई राष्ट्रिय चर्चामा ल्यायो ।
२०७८ सालमा विवेकशीलमा आन्तरिक कलह चुलियो । रञ्जु पार्टीबाट राजीनामा दिएर केही समय स्वतन्त्र रहिन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनिन् । तर चुनाव जित्न सकिनन् । त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन् ।
२०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनिन् र चुनाव जितिन् । रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।