रोल्पा । नेकपाका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रलाई संकटबाट बचाउनु पर्ने बताएका छन् । रोल्पाको सदरमुकाम लिबाङमा नेकपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै विदेशी शक्ति र तिनका दलालहरुका कारण देश संकटमा रहेको दावी गरेका हुन् ।
असहज परिस्थितिमा चुनाव हुँदैछ । राष्ट्रमा ठूलो संकट आएको छ । विदेशी शक्ति र तिनका दलालले देशको स्वाधीनतामाथि चुनौती खडा गरेका छन् ।’ प्रचण्डले भने ।
जेनजी आन्दोलन पश्चात् भएको निर्मम दमन र विध्वंसको दुई अतिवादका विरुद्ध प्रतिवाद गर्न सबै नेपालीलाई अपिल समेत गरे । असहज स्थितिमा भैरहेको चुनावबाट मुलुकलाई नयाँ समाजवादी बाटोमा अघि बढाउने तागत लिन आफू आधार इलाका आउने गरेको दावी गरे । युद्धताका रोल्पा, रुकुम, जाजरकोट र सल्यान आधार इलाका रहेको स्मरण गर्दै उनले यहीँ ठाउँबाट नयाँ समाजवादी यात्राको थालनी गर्ने जिकिर गरे । त्यसकै लागि पुर्वी रुकुमबाट चुनावमा भग लिएको पनि बताए ।
२०६४ को पहिलो संविधान सभाको चुनावमा रोल्पाबाट विजय भएपछि पहिलो पटक प्रधानमन्त्री भएकाले रोल्पालीप्रति आफू ऋणी भएको भन्दै नेकपाका संयोजक प्रचण्डले नयाँ परिस्थितिमा आधार इलाकाको थप तागत आवश्यक रहेको दावी गरे ।
उनले देशलाई संकटबाट जोगाउन जनताको एकता महत्वपूर्ण रहेको पनि सन्देश दिएका छन् ।