नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हितबहादुर तामाङले आफ्नो जित सुनिश्चित भइसकेको र अब आधिकारिक घोषणा हुन मात्र बाँकी रहेको दाबी गर्नुभएको छ । नुवाकोटको छहरेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विपक्षीहरूको पराजय निश्चित भएपछि उनीहरू अत्तालिएर आचारसंहिता विपरीतका क्रियाकलापमा उत्रिएको आरोप समेत लगाउनुभयो।
आफ्नो विजयप्रति ढुक्क देखिनुभएका तामाङले भन्नुभयो, “नुवाकोट क्षेत्र नं. १ मा अरु कोही कसैले जित्ने सम्भावना मैले देखेको छैन। एक प्रकारले भन्ने हो भने हामीले जितिसक्यौँ। अब फागुन २१ गते जनताले मतदान गरेर मतगणनापछि औपचारिक घोषणा हुन मात्र बाँकी छ।” उहाँले थप्नुभयो, “कदमकदाचित् आकाश खसेछ वा धर्ती भास्सिएछ भने मात्र अर्कै कुरा हो, नत्र परिवर्तन जोगाउन पनि हितबहादुर तामाङले जित्नु अनिवार्य छ।”
पत्रकार सम्मेलनका क्रममा नेता तामाङले पञ्चकन्या गाउँपालिकामा नेपाली कांग्रेसका तरुण दलले निर्वाचन आचारसंहिताको धज्जी उडाएको भन्दै कडा आपत्ति जनाउनुभयो। पञ्चकन्यामा कांग्रेस कार्यकर्ताले निर्वाचन आचारसंहिता विपरीत खसी काटेर भोज खुवाएर मतदातालाई प्रलोभनमा पार्न खोजेको विषयलाई उहाँले गम्भीरताका साथ उठाउनुभयो।
“जनतालाई प्रलोभनमा पार्न कांग्रेसले पञ्चकन्यामा खसी काटेर भोज खुवाउने जस्ता तानाबाना बुनिरहेको छ। सुरक्षाकर्मीले घटना नियन्त्रणमा लिए पनि यस्ता घृणित कार्यले लोकतन्त्रको उपहास गर्छ,” उहाँले भन्नुभयो। जनतालाई लोभ्याउन कांग्रेसले अनेक प्रपञ्च रचेको भन्दै उहाँले निर्वाचन आयोग र प्रशासनको ध्यानाकर्षण समेत गराउनुभयो।
चार दशकभन्दा लामो समयदेखि नुवाकोटको माटोमा सङ्घर्ष गर्दै आएका तामाङले नुवाकोटको राजनीतिमा जकडिएको ‘परिवारवाद’ को यसपटक अन्त्य हुने बताउनुभयो। तामाङले कडा शब्दमा भन्नुभयो, “नुवाकोटलाई केसी र महत परिवारले वर्षौँदेखि राजनीतिक थलो मात्र बनाए। उनीहरूले गरेको काममा कुनै गुणस्तर छैन। परिवारवादको अन्त्य र नुवाकोटको समृद्धिका लागि नै मेरो उम्मेदवारी हो।”
आफू यहीँको माटोमा जन्मिएको र सधैं जनताको सुख-दुःखमा साथै रहेको बताउँदै तामाङले आगामी फागुन २१ मा ‘तारा’ चिन्हमा मतदान गरी परिवर्तनको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभयो। उनले ०७४ पछी मात्रै आफ्नो नेतृत्वमा नुवाकोट्मा विकासका पुर्वाधारको काम अघि बढेको बताए।