८ माघ, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । उनीविरू्द्ध परेकाे उजुरीमाथि छलफल गरेपछि बुधबार निर्वाचन आयाेगले उनकाे उम्मेदवारी खारेज गरेकाे छ ।
चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट साेमबार उम्मेदवारी दर्ता गराएका थिए । चाैधरी कर्तव्य ज्यान कसुरमा जन्म कैद सजायँ पाएका व्यक्ति हुन् । उम्मेदवारी खारेजीका लागि आयाेगले यसैलाई मुख्य कारण बनाएकाे छ ।
२०७३ साउन ८ मा कैलालीकाे टिकापुरमा भएकाे थारू आन्दाेलनमा प्रहरीका एसपी लक्ष्मण न्याैपानेसहित ८ प्रहरी र एक नाबालककाे ज्यान गएकाे घटनामा अदालतबाट चाैधरी दाेषी ठहर भई जन्मकैद सजायँ पाएका थिए । जेलमा रहेर सजायँ काटिरहेका बेला तत्कालिन सरकारकाे सिफारिसमा राष्ट्रपतिबाट बाँकी सजायँ माफी पाएर जेलबाट छुटेका थिए । साेहि घटनामा थारू समुदायका थुप्रै मानिस जेलमा छन् ।
यस्तै, काठमाडाैं क्षेत्र नं. १० का उम्मेदवार सुमित्रा बस्नेतकाे पनि उम्मेदवारी खारेज भएकाे छ । उनी मितेरी पार्टीबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । उनीविरूद्ध कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको आयाेगले जनाएकाे छ