प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले दलहरुलाई नै स्थापित गर्ने भन्दै सहयोगका लागि सबैलाई आग्रह गरेकी छन् ।
दलहरुसँगको छलफलमा बोल्दै उनले भनिन्, ‘हामीले जेनजी आन्दोलनबाट आयौं तर दलका विरोधी होइनौं। राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ।’
प्रधानमन्त्री सुशीला कार्कीले आजको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताएकी छन्।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिह्ना र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो।
राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो।
चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा थिए।
गृहमन्त्री अर्याल सहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा स्पष्ट पारेका थिए।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको विवरण प्रस्तुत गरेका थिए।