नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज कर्ण थापामाथि पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुर्व्यवहार भएको छ। अध्यक्ष केपी शर्मा ओली अघिपछि हिँड्ने कृष्णसागर वलीले अभद्र व्यवहार गरेका हुन्।
कर्ण थापा दुई कार्यकाल अध्यक्ष ओलीले चलाईसकेको र पछिल्लो स्थिति परिवर्तन भएको भन्दै उनले नेतृत्व परिवर्तनको माग गर्दै आएका थिए ।
उनी आईतबार मिडियासँग बोलिरहेका बेला अचानक अध्यक्ष ओली आएका थिए । त्यही बेला अध्यक्षको नजिक जान खोजेका बेला उनलाई धमेलेर निकालिएको भिडियो देख्न सकिन्छ ।
नेता थापाले धाकधम्की दिनेहरू अध्यक्ष ओली अघिपछि हिँड्ने गरेको भन्दै आइतबार त्यस्तै व्यक्तिले अभद्र व्यवहार गरेको बताए। ‘अहिले अध्यक्षका अघिपछि धाकधम्की दिने खालका मान्छेहरू छन्। तिनले मान्छे चिन्दैनन्। त्यस्तै एक व्यक्तिले मलाई अघि जान रोकेका हुन्’ नेता थापाले भने ।
गत भदौमा भएको एमालेको विधान महाधिवेशनमा नेता थापाले ओलीको नेतृत्व र प्रस्तुत गरिएका दस्तावेजको सशक्त आलोचना गरेका थिए। सुदूरपश्चिममा इन्चार्ज तोक्ने लगायतका विषयमा ओलीले गरेको एकल निर्णयको विरुद्धमा उभिएका उनले बन्दसत्रमै असहमति प्रकट गरेका थिए।
अदालत र प्रहरी रेकर्ड अनि मिडियामा प्रकाशित रिपोर्टअनुसार च्यासलस्थित पार्टी कार्यालयमा थापामाथि दुर्व्यवहार गर्ने व्यक्ति दाङको तुलसीपुर–६ निवासी कृष्णसागर वली हुन्। उनको पृष्ठभूमि गम्भीर आपराधिक क्रियाकलापमा संलग्न रहेको देखिएको छ।
उनी सामूहिक बलात्कार मुद्दामा संलग्न भई सर्वोच्च अदालतबाट ‘बलात्कारी मतियार’ प्रमाणित भएका र अदालतले तोकेको सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। गम्भीर आपराधिक पृष्ठभूमिका व्यक्तिले अध्यक्ष वरिपरि घुम्दै पार्टी कार्यालयमै स्थायी कमिटी सदस्यमाथि दुर्व्यवहार गर्नुलाई एमाले नेताले गम्भीर रूपमा लिएका छन्।
वलीलाई प्रहरीले सार्वजनिक अपराध र ज्यान मार्ने उद्योग लगायतका विभिन्न गम्भीर मुद्दामा पटक–पटक पक्राउ गरिसकेको छ।