नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा एक लाख कार्यकर्ता सिंहदरबार धम्की दिएका छन् ।
नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिँजाएको बताए। त्यसो भएमा शुक्रबार भेला भएका भन्दा पाँच दोब्बर मानिस सिंहदरबार प्रवेश गर्ने उनले चेतावनी दिए।
भदौ २४ गतेका प्रदर्शनकारीले जस्तो एनभिएफले तोडफोड र आगजनी नगर्ने उनले बताएका छन्।
‘हामी भदौ २४ गतेका अराजकहरू जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौं,’ बस्नेतले भने, ‘बरू फूलमाला लगाएर सुशीला कार्कीका मन्त्रीहरूलाई सिंहदरबाट बिदाइ गर्नेछौं। १ लाख जनताको उपस्थितीमा सिंहदरबार भित्रै आमसभा गर्छौं।’
नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतंकित पारिरहेको उनले बताए। उनले अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा भएकोले आफूतिर आउन सक्ने आरोपलाई अन्त पन्छाएको उनको दाबी थियो।
‘अहिलेका सरकारका प्रधानमन्त्री, मन्त्री र सरकारसम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्,’ बस्नेतले भने, ‘नेपो बेबीका आमाबुवाले शासन चलाएका छन्। यो जायज छैन।’