कुनै यस्तो समय थियो कि केपी ओलीले जे बोल्यो त्यो एमालेका सबै नेता कार्यकर्ताले प्रतिरक्षा गर्थे । तर अब समय फेरिएको छ । उनी निकट रहेकै नेताहरु पनि जेनजी विद्रोहपछि फरक स्थितिमा आएका छन् ।
कतिपय केन्द्रीय सदस्यहरुले खुलेरै ओलीको राजीनामा मागिरहेका छन् । आगामी मंसीर २७ गते हुने महाधिवेशनलाई ओलीले केही समय अघि मैले भाषण गरेपछि महाविबेशन सकिन्छ भनेको बिषयले एमालेलाई तरगित बनाएको छ ।
ओलीलाई काउन्टर दिन ईश्वर पोखरेल अध्यक्षको उम्मेद्धार बन्ने तयारी भएको स्रोतले बताएको छ ।
स्वय ईश्वर पोखरेलले सामाजिक सञ्जालमा ११ औँ महाधिवेशनमा विभिन्न विषयमा छलफल हुने बताएका छन् ।
‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ। तसर्थ आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ,’ शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट गरेका छन्।
उनले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्शमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहने पनि उल्लेख गरेका छन्।
‘महाधिवेशन प्रतिनिधिहरूको छनोट मंसिर १३ गते देशभर एकै दिन हुँदैछ। जबजको संगठनात्मक सिद्धान्तअनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपील गर्दछु,’ उनले भने।
उनले इतिहासका हरेक राष्ट्रिय संकट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि एमालेले नेतृत्व गर्दै आएको पनि बताएका छन्।
ईश्वर पोखरेललाई विद्या भण्डारीको साथ रहेको छ । भण्डारी राष्ट्रपति कार्यकाल सकिएपछि एमालेमा सदस्यता नवीकरण गरेर पार्टी नेतृत्वमा आउन चाहन्थिन् तर ओलीले सदस्यता नवीकरण रोकेका थिए ।
भदौ २३ गतेको जेनजी युवाहरुको आन्दोलनमा नरसंहार गरेको आरोपमा उनीमाथि जाँचबुझ आयोगले छानविन गरीरहेको छ र बयान लिने तयारी गरीरहेको छ । उनले कार्की आयोगलाई बयान नदिने चेतावनी दिँदै आएका छन् ।
एकातिर ओली तात्कालीन सरकारको नेतृत्वको हैसियतले नृसंस दमनको अभियोगमा स्थान हदबन्दी र विदेश भ्रमणमा जान नपाउने गरी आयोगले रोक लगाएको छ ।
ओलीले भने निरन्तर त्यसको काउन्टर गरीरहेका छन् ।
राजनीतिक जीवनमै यो दमनको दाग बोकिरहेका ओलीले पार्टीको नेतृत्व छाड्न समेत मानिरहेका छैनन् । महेश बस्नेत सहितको टिम ओलीलाई नै पार्टी अध्यक्ष बनाउने अभियानमा लागिरहेका छन् ।
यसरी हेर्दा ओलीलाई पार्टी भित्र र बाहिर सबैतिर घेराबन्दी बढीरहेको देखिन्छ ।
ओलीले पद नछाडे र फेरी एमालेको अध्यक्ष नै भए भने निर्वाचनमा उनको अनुहार लिएर जान नसकिने भन्दै तल्लो पक्तिका कार्यकर्ताहरुले समेत दबाब दिईरहेका छन् । त्यस्तो स्थितिमा असन्तुष्ट हुने नेता कार्यकर्ताहरु पार्टी छाड्ने स्थितिमा पुग्ने समेत स्रोतले दाबी गरेको छ ।