काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने बताएका छन्।
एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा ओलीले वर्तमान सरकारले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने बताए।
सरकार गठनका लागि शीतल निवासमा भएको छलफलमा एमालेका कुनै प्रतिनिधि सहभागी नभएकाले पूर्व प्रधान्यायाधीशको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटनमा एमाले पूर्ण विमति रहेको उनको भनाइ छ। अध्यक्ष ओलीले तोडफोड र आगजनीको बलमा निर्माण भएको सरकारको पछिल्लो गतिविधि समेत असंवैधानिक रहेको आरोप लगाए।
उनले बेठिक तत्वसँग नझुकेको एमाले दुई दिनको आन्दोलनको बलमा निर्माण भएको असंवैधानिक सरकारसँग समेत नझुक्ने तर्क गरे।
त्यस्तै अध्यक्ष ओलीले भने ‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन, हाँगा पनि छैन । एउटा पहेंलो लहरो हुन्छ नि एउटा, आकाशबेली जस्तै कहाँबाट पलायो कहाँबाट। यो आकाशबेली सरकारले हामीजस्तो कमिटमेन्ट भएको मान्छेलाई पासपोर्ट रोक्का गर्छ। के काम गर्छ यसले ?,’ उनले प्रश्न गरे।
उनले मर्न परे पनि देशमै मर्ने भन्दै देश छाडेर नभाग्ने दाबी गरे ।