प्रधानमन्त्री र पूर्व राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र पूर्व राष्ट्रपतिबीच भेटवार्ता

  • बुधबार, कार्तिक १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, १९ कात्तिक : प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताउनुभयो । त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राख्नुभयो ।

प्रधानमन्त्री कार्कीले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सराहना पनि गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलहरू चुनावमा जानैपर्छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो । तपाईंहरूले चुनावका लागि गर्नुभएको तयारी र सबै पक्षहरूसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ । निर्वाचन आयोगलाई बजेट दिनुभएको छ । बन्दोबस्तीका सामग्रीको व्यवस्थापन भइरहेको छ । यो राम्रो कुरा हो । अब नागरिक समाजसँग पनि कुरा गर्नुहोस् । नागरिक समाजले पनि दलहरूलाई चुनावमा जान प्रेरित गर्नुपर्छ ।”

पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयमा आफ्नो अनुभव सुनाउनुभयो । त्यतिखेरको सुरक्षा अवस्था र भूराजनीतिक परिवेशका सम्बन्धमा पनि उहाँले चर्चा गर्नुभयो । उहाँले सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायबीचको समन्वयमा जोड दिनुभयो ।

दलहरूले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दलहरूलाई म पनि भनिरहेको छु चुनावको विकल्प छैन । चुनाव नगरी हुँदैन । अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनुहुँदैन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ