कार्तिक १३, भैरहवा । रुपन्देहीका उद्योगीले विद्युत लाइन काटेको बिरोधमा झरीकै बीच प्रदर्शन गरेका छन् ।नेपाल विद्युत प्राधिकरणले डेडिकेडेड फिडर र ट्रंकलाइन वापतको बक्यौंता महशुल नतिरेको भन्दै उनीहरुले आज प्रदर्शन गरेका हुन् ।
उद्योगले माग नै नगरेको ट्रंकलाइन वापतको महशुल चुक्ता गर्न बाध्य बनाइएको भन्दै उद्योगीले बिरोध गरे । सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा भएको प्रदर्शनमा बन्द उद्योगका कर्मचारी, मजदुर, विभिन्न उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघका सदस्य सहभागी थिए । बिहीबार झरी परे पनि उनीहरुले भैरहवास्थित विद्युत कार्यालयको गेटमा बिहान ११ बजेदेखि १२ बजेसम्म बन्द उद्योगका व्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा मजदुरले रोजगारी नखोस्न र ट्रकलाइन खपतका लागि माग गरेको प्रमाण देखाउन सरकार समक्ष माग गरका थिए । उनीहरुले सरकारले प्रमाण दिने बित्तिकै महशुल बुझाउने भन्दै नाराबाजी गरेका थिए । उनीहरुले सरकारले नै उद्योगीलाई बदमास देखाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा भएको प्रदर्शनमा तिलोत्तमा उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ बुटवल, रुपन्देही उद्योग संघ, विभिन्न श्रमिक संघ र जिफन्ट नेपालले ऐक्यबद्धता जनाएका छन् ।
प्रदर्शनलाई सम्बोधन गर्दै विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिले डेडिकेडेट फिडर र ट्रकलाइन माग गरेका उद्योगीले महशुल तिर्नुपर्नेमा द्विविधा नभए पनि माग नै नगरेका उद्योगीबाट महशुल असुली गर्नु अन्याय हुने भएकाले आन्दोलनमा उत्रिएको बताए ।
रुपन्देहीका डेढ दर्जन उद्योगमा जानकारी बिनै डेडिकेडेड फिडर र ट्रंकलाइन जडान गरेर महशुल चुक्ता गर्न बाध्य तुल्याएको भन्दै व्यवसायिक संघसंस्थाले आन्दोलनको निर्णय गरेको बताए । प्रदर्शनमा सहभागी संघसंस्था बीच समन्वय गरेर आगामी दिनका लागि विरोधका कार्यक्रम तय गरिने उनले जानकारी दिए ।