नेकपा (एमाले) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोलाइएको छ। आजको बैठकमा भदौ २३ र २४ गतेको आन्दोेलनको समीक्षा हुने एमालेका नेताहरूले बताएका छन्।
जेन–जी विद्रोहबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा गएका थिए।
त्यसपछि उनले पहिलो पटक पार्टी बैठक बोलाएका हुन् । यस अघि हिजो उनी दँशैको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका थिए । यसबीचमा अध्यक्ष ओलीले सचिवालय तहकादेखि जनसंगठनसम्म नेता कार्यकर्तालाई निवासमै बोलाएर आफ्ना कुरा भन्ने, परिस्थितिबारे आफ्नो धारणा सुनाउने गरेका थिए।
सचिवालय तहका नेताहरूले ओलीलाई पद छाड्न दबाब दिईरहेका छन् ।
जेनजी आन्दोलनको पहिलो दिन प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएपछि भोली पल्ट उग्र प्रदर्शन हुँदा सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति कार्यलय र सर्वोच्च अदालत सहित संयौ सरकारी संरचना र प्रहरी कार्यलयहरु आगो लगाईएको थियो ।
प्रधानमन्त्री ओलीलाई हेलिकप्टरबाट सेनाले सुरक्षित उद्धार गरेको थियो भने काँग्रेस सभापति देउवा दम्पत्तिमाथि घरै भित्र सांघातिक आक्रमण भएको थियो ।