काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी रहेको छ। कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थिति र एवम् संगठनात्मक प्रस्ताव सहित सबै पार्टी कमिटि भंग गर्ने प्रस्ताव पेश गरेका छन् ।
माओवादी केन्द्रभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेको समयमा भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रीय कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकले नै महाधिवेशनको मिति तय छ।
प्रचण्डलाई महाधिवेशन आयोजक समितिको संयोजक तोकेर कमिटी भंग गर्न लागिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो।
विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको भन्दै यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने बताइएको छ।