५ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भएको बेला नेतृत्व परिवर्तनको कुरा गर्नु गलत हुने टिप्पणी गरेका छन् ।
आज महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सांघातिक हमलाबाट सभापति देउवाको घाउ निको नभइसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गरेर नुन छर्ने काम गरिएको बताए ।
‘कांग्रेसभित्र पनि विभिन्न खाले बहस भइरहेको छ । हाम्रो पार्टी सभापति जसले लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ, उहाँमाथि यस्तो त्रासदीपूर्ण आक्रमण भयो । अझै उहाँ उपचारको पूर्ण अवस्थामा पुग्नुभएको छैन । त्यस्तो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो,’ महतले भने ।
उनले पार्टीले यसप्रकारका आक्रमणको भर्त्सना र निन्दा गरिसकेको भन्दै अहिले आन्तरिक विवादमा भन्दा एकतामा जोड दिनुपर्ने बताए ।
महामन्त्रीद्वय थापा र शर्मासँगै केही नेताहरूले पार्टीको नेतृत्व बदलेर जेन–जी आन्दोलनको चाहनाअनुसार पार्टी पुनर्संरचना गरेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।
नेता महतले अहिले कांग्रेस एक भएर अघि बढ्ने समय रहेको भन्दै विभाजनकारी प्रवृत्ति गलत भएको टिप्पणी गरे ।
‘
‘