भदौ ३० काठमाण्डौँ । हामी नेपाल नामको एनजिओ चलाएर एकाएक आन्दोलनको अगुवाईका रुपमा शीतल निवास र जंगी अड्डा प्रवेश गरेपछि विस्तारै विवादमा पर्दै गएका सुदन गुरुङ समुहले बालेनका सल्लाहकार ओम प्रकाश अर्याललाई मन्त्री बनाएको भन्दै असन्तुष्टी जनाएको छ ।
उनी आफैले जेनजी आन्दोलनपछि सिफारीस गरेर नियुक्त भएकी प्रधानमन्त्री शुसीला कार्कीको एक साता नबित्दै उनले राजीनामा समेत मागेका छन् ।
मध्यराति केही जमात लिएर बालुवाटारको तीन नम्बर गेटमा पुगेका उनले आफूहरुसँग सल्लाह नगरी मन्त्री छानेको भन्दै नाराबाजी गरेका थिए ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले ,कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री कार्कीले सपथ ग्रहण गरेपछि सुदनले कार्कीको खुट्टा ढोगेका थिए ।
म आयोजक होइन भनेर पछि एकाएक अगुवाका रुपमा देखिएका गुरुङको यो प्रवृति भने अराजक देखिएको छ । उनी पत्रकार सम्मेलन, वा कुनै पनि कार्यक्रममा झर्किएर झोक्किएर प्रस्तुत हुने गरेको देखिन्छ ।
प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको छ ।
सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् ।