राष्ट्रपतिको अवस्था सार्वजनिक हुनुपर्ने माग राखी केही युवाले काठमाडौँको बबरमहलमा प्रदर्शन गरेका छन्। निषेधाज्ञाकै बीच उनीहरूले संविधान र लोकतन्त्रका पक्षमा प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी समेत गरेका छन्।
उनीहरूले ‘संविधान मास्न पाइँदैन’, ‘विदेशी दलाल होसियार,’ ‘हाम्रो राष्ट्रपति सार्वजनिक गर,’ ‘जंगी शासन चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर’ जस्ता नारा लगाएका थिए।
उनीहरूले संविधानको पुस्तक पनि बोकेर ल्याएका थिए।
मंगलबार सिंहदरबार, सर्वोच्च अदालत, शीतलनिवास लगायत संरचनामा तोडफोड र आगजनी हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेका थिए। राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई विभिन्न ठाउँमा अहिले सेनाले सुरक्षा दिएर राखेको छ।
आजै काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनहरुले मिनभवन क्याम्पस अगाडी छुट्टा छुट्टै प्रदर्शन गरी लोकतन्त्र बाहेक अर्को विकल्प स्वीकार गर्न नसकिने भन्दै राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका छन् ।