भदौ २६ काठमाण्डौँ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा आज निर्णायक छलफल हुँदैछ ।
आज सहमति भएमा उनलाई अन्तरीम प्रधानमन्त्री घोषित गरिनेछ । संविधान भित्रैबाट निकास खोज्न दलहरुले दबाब दिईरहेका कारण यो कुन मोडलमा टुंगो लगाउने हो तय भईसकेको छैन ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन् ।
नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।
हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् ।
जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गरिदिन जेनजीले राखेको प्रस्ताव स्वीकार्ने बताइसकेकी छन् ।