भदौ २३ काठमाण्डौँ । सरकारले गरेको सामाजिक सञ्जाल बन्द र देशमा व्याप्त भ्रष्टाचार तथा बेतिथिविरुद्ध जेनजी पुस्ताले आज काठमाडौँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दैछन्।
आज बिहान ११ बजे काठमाडौँको माइतीघर क्षेत्रमा भेला भएर जेनजी पुस्ताले प्रदर्शन गर्न लागेको हो। सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई निस्क्रिय बनाएपछि जेनजी पुस्ता ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ भन्दै प्रदर्शनमा उत्रन लागेको हो।
जेनजी युवापुस्ताका तर्फबाट आइतबार सूचना जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने भनिएको छ। उक्त सूचनामा सवल गौतम र पुरुषोत्तम यादवको हस्ताक्षर छ।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ। आजको प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी हुने बताइएको छ।
‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’को आयोजनामा हुन लागेको प्रदर्शनमा विभिन्न संघसंस्थ्था र व्यक्तिहरूले पनि एक्यवद्धता जनाएका छन्।
विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्नसमेत उनीहरूले आह्वान गरेका छन्।
उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने बताएका छन्। आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी मात्रै सहभागी हुने उनीहरूको भनाइ छ।
प्रहरीले भने जेनजी युवा पुस्ताको प्रदर्शनमा घुसपैठ हुन सक्ने अनुमानसहित सुरक्षा सतर्कता बढाएको छ।