गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । तर अहिले रोजगारी अभाव, आर्थिक विकासको अभाव र महंगी जस्ता कुराहरुले जनता गणतन्त्रबाट पनि सन्तुष्ट हुनुको साटो निराश भएको देखिएको छ । अहिले राजावादीहरुले गणतन्त्र बिरुद्ध आन्दोलन पनि गरीरहेका छन् । यसै सन्दर्भमा गणतन्त्रको आधार निर्माण गर्ने मुख्य शक्ति माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटासँग सिर्जना तिम्सिनाले गरेको कुराकानी :
गणतन्त्र ल्याउने मुख्य शक्ति तपाईहरु , गणतन्त्र ढाल्ने भनेर राजाावादीहरु आन्दोलित भईरहेका छन्, तपाईहरु कतिको चिन्तित हुनुहुन्छ ?
राजावादीले जुन क्रियाकलापहरु गरीरहेका छन् । उनीहरुको कुरामा कुनै आधार छैन । गणतन्त्र भनेको फराकिलो व्यवस्था हो । यही व्यवस्थाले उनीहरुलाई बोल्न दिएको छ । आधार नभएको राजतन्त्रको कुरामा धेरै समय खर्च गरेर छलफल नगरौँ ।
जनयुद्ध र जनआन्दोलनको बलमा गणतन्त्र आयो । तर गणतन्त्रले जनतामा खुसी दिन सकेको छैन , बेरोजगारीका कारण मानिसहरु आक्रोशित छन् , के भन्नु हुन्छ ?
गणतन्त्र नेपाली जनताले ल्याएको हो । यसको विकल्प भनेको अझ विकसित उन्नत लोकतन्त्र वा गणतन्त्र हो । जनताका आकांक्षाहरु असीमित छन् । यी आकांक्षाहरुलाई एक एक गर्दै सवोधन गर्दै जानु पर्ने हो । तर अहिलेको नालायक सरकारले जनताको कुरा नसुन्ने, संवोधन नगर्ने र निरकुशतातिर जाने खालको कुराले गर्दा जनतामा आक्रोश चाँही बढेको छ ।
हिजोको तुलनामा सेवा प्रवाह, रोजगारीको क्षेत्र, विकासको कुरा सबै कुरामा राम्रो भएको छ तर यो सरकारले जनतामा कुसासन नलादेको भए यो भन्दा अझै धेरै गर्न सकिन्थ्यो । यो कुसासनमा लिप्त भएको सरकारका बिरुद्ध जनताले संघर्षमा जानु पर्ने स्थिति आउन सक्छ । अहिले हामीले खबरदारी गरीरहेका छौँ । जनतालाई अपमानित गर्ने हेप्ने, निरकुशतातिर जाने कुरा गरीरहन्छ भने जनता आन्दोलित हुने स्थिति छ ।
विकासको कुरा गर्दा पञ्चायत काल र बहुदल कालमा तुलनै नहुने गरी विकास निर्माण चाँही भएको छ ।
यो अभियानलाई हामीले अब माओवादीको मात्र हैन राष्ट्रिय अभियान भएको भनेका छाँै । हामीले जनतासँग विगतमा गरेका कमजोरीहरु सच्याउने प्रतिवद्धता सहित आत्मालोचना गर्दै अघि बढेका छौँ । यो अभियानमा असाधारण जनताको आकर्षण देखिएको छ । हामीलाई लाग्छ , जनता अझ अग्रगमन र समाजवादी गणतन्त्रतिर जान जनताले साथ दिन तयार भएको देखेका छौँ । भर्खरै हाम्रो पार्टीमा नेसपा, डा. बिजय सैजुको नेपा पार्टी हाम्रो पार्टीमा समाहित भएको छ अरुसँग पनि एकता हुनेछ । यो आधारशीलामा टेकेर हामी नयाँ विचार, दृष्टिकोण र कार्यक्रम सहित जाने छौँ ।
तपाईहरु पनि सरकारमा त पटक पटक जानु भएको छ , १७ वर्षमा १४ सरकार बनेका छन्, राजनीतिक अस्थीरता छ, यसलाई कसरी हेर्नु हुन्छ ?
१८ महिना हाम्रो पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार चल्यो । शुसासनको पक्षमा र भ्रष्टाचारको बिरुद्धमा नयाँ कीर्तिमानहरु कायम भए । जस्तै भुटानी शरणार्थी काण्ड, मिटरव्याज पीडितको पक्षमा भएका काम, सहकारी ठगीका बिरुद्धका कार्बाही जस्ता कीर्तिमानी कामहरु भएका छन् ।
हामी सरकार बाहिर आएपछि मात्रै भ्रष्टाचार बिरुद्ध र सुसासनका पक्षमा बोलेका हैनौँ । सुसासनका साथै कुटनीतिक क्षेत्रमा पनि प्रचण्ड कमरेड प्रधानमन्त्री भएका बेला चीन, भारत जस्ता देशको भ्रमण मार्फत सम्बन्ध विस्तार भएको थियो । सँयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपालै आउनु भयो सगरमाथा आधार शिविरको भ्रमण गर्नु भयो र नेपालको मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।
१८ महिनामा पूर्वाधारको क्षेत्रमा, शुसासनका पक्षमा उल्लेखनीय कामहरु भएका छन् । भ्रष्टाचार बिरुद्ध कठोर कदम चालेकै कारण मध्यराति असंसदीय, अराजनीतिक कारणले संसदीय मर्यादा र नैतिकता बिरुद्ध रातारात दुई दल मिले । अहिले राज्यका सबै संयन्त्रहरु नाकाम भईसकेका छन् । सरकारमा भएका दुई ठूला पार्टीहरु दाउपेचमा मात्रै लागिरहेका छन् । गभर्नर नियुक्ति, कुलमान घिसिङ हटाउने, भिजिट भिषा प्रकरण सबै हेर्नुस् यो सरकार निकम्मा भईसकेको छ । जनताको मनमा यो सरकार छैन ।
तपाईहरुले सरकार ढलिहाल्छ भन्नु हुन्थ्यो तर उनीहरु निरन्तर अघि बढीरहेका छन् नि ?
रुपमा यो सरकार छ । प्राविधिक रुपमा यो सरकार हो । तर यो सरकार जस्तो छ त ? यसले जनताको पक्षमा के के काम गरीरहेको छ ? यस्तै गरी दुई तिहाईको मतको दम्भमा यसै गरी जनतालाई अपमानित गरेर गईरहने हो भने के हुन्छ ? बिचौलीयाको स्वार्थमा काम गर्ने र निर्णय गर्ने प्रयास बाहेक यो सरकारको काम छैन । जनताको मनमा सरकार छैन ।
हामीले लोडसेडिङ हटाउदा बनाईएका बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भित्रुभव विश्व विद्यालयका उपकुलपतिलाई राजीनामा गर्न बाध्य पार्नु , हुँदा हुँदा आफ्नै मन्त्री बिद्या भट्टराईलाई राजीनामा दिन बाध्य पार्नुले यो सरकार कस्तो हो र हैसियत के हो भन्न देखिन्न ? अहिले जनतामा देखिदै गएको आक्रोशलाई सरकारले संवोधन गरेन भने उनीहरु जतिसुकै ठूलो संख्यामा भए पनि जनताले परास्त गर्नेछन् ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व जनयुद्धको उपलव्धि भन्नु भएको छ, यसको रक्षाका लागि तपाईहरुसँग के छ कार्यक्रम ?
गणतन्त्रको रक्षा गर्न मात्र हैन । हामीले २०६२ सालमै गणतन्त्र आएपछि त्यो गणतन्त्र दलालहरुको हुन्छ कि जनताको हुन्छ भन्ने कुरामा संघर्ष हुन्छ भनेका थियौँ । तर अब म के भन्नु छने अब समाजवादी गणतन्त्रतिर अगाडी बढेर मात्र यसको रक्षा र विकास हुन्छ । रक्षा मात्र भनेर हुँदैन । काँग्रेस, एमाले जस्ता पार्टीहरु यसमै गोलचक्कर मारेर दलाल पूजीपतिहरुको स्वार्थमा चलिरहने प्रयत्नमा छन् । हामी अब समाजवादी गणतन्त्रको तयारीमा छौँ । हुलाकी राजमार्ग अभियान र अहिले चलिरहेको मध्यपहाडी लोकमार्गको अभियान पनि त्यही तयारीको अभियान हो ।
गृहमन्त्री रमेश लेखकको तपाईहरुले राजीनामा मागिरहनु भएको तर काँग्रेस एमाले उनलाई हटाउन तयार छैनन् मात्र हैन कि उनले आफै अन्यायमा परेको भनिरहेका छन् , तपाईहरु के गर्नु हुन्छ ?
काँग्रेस एमाले अरु पार्टीका मान्छेलाई छानी छानी जेलमा हाल्ने र आफ्नो मान्छेको रक्षामा लागिरहेको कुरा दिनको घाम झैँ छर्लङग छ । गृहमन्त्री मातहतको कर्मचारीले यति सम्म बुझाउनु पर्छ भन्दै भिजिट भिषामा जानेहरुसँग रकम असुली गरीरहेका बेला प्रश्नको घेरामा परेका गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर पारदर्शी अनुसन्धानको लागि सहयोग गर्नु पर्नेमा उल्टै बचाउ गर्नु राम्रो हैन । उहाँले राजीनामा दिनै पर्छ । हैन भने यो प्रकरणलाई जनताले पनि गंभीरतापुर्वक हिशाब किताब राख्नेछन् । उनीमाथि सदन र सडकबाट दबाब दिएर राजीनामा दिन बाध्य पार्नु पर्छ । भ्रष्टाचार भनेको पैसाको मात्र हैन । राष्ट्रियतासँग जोडिएको मान्छे बेच्ने कार्यमा संलग्नताको कुरा गंभीर भएकाले राजीनामाको विकल्प छैन ।
तपाईहरुको मध्यपहाडी लोकमार्ग अभियान कहाँ पुगेको छ, के छन् उपलव्धि ? जनतामा आशा र विस्वास दिलाउने कस्तो प्रयास भईरहेका छन्, जनताले मुद्धा छाड्यो माओवादीले भनिरहेका छन् नि ?
हामीले फागुण १२ गते झापाबाट शुरु गरेर कन्चनपुरमा समापन गरेको हुलाकी राजमार्ग अभियान पछि फेरी मध्यपहाडी अभियान जारी छ । मध्यपहाडी लोकमार्ग अभियानको पहिलो चरणको समापन पोखरामा भएको छ ।
हामीले यो अभियानमा धेरै उत्साह देखिएको छ । अभियान जसरी अघि बढीरहेको छ त्यसबाट शिक्षा लिँदै शहीद, वेपत्ता, घाईते, समाजका विविध पक्षहरु, विशिष्ट व्यक्तित्वहरु, जनसंवादहरु भईरहेका छन् हाम्रो त भईहाले काँग्रेस एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि हामीलाई स्वागत गर्ने ज्ञापन पत्र दिने काम गरीरहेका छन् । यसैले यो अभियानलाई हामीले अब माओवादीको मात्र हैन राष्ट्रिय अभियान भएको भनेका छाँै । हामीले जनतासँग विगतमा गरेका कमजोरीहरु सच्याउने प्रतिवद्धता सहित आत्मालोचना गर्दै अघि बढेका छौँ । यो अभियानमा असाधारण जनताको आकर्षण देखिएको छ । हामीलाई लाग्छ , जनता अझ अग्रगमन र समाजवादी गणतन्त्रतिर जान जनताले साथ दिन तयार भएको देखेका छौँ । भर्खरै हाम्रो पार्टीमा नेसपा, डा. बिजय सैजुको नेपा पार्टी हाम्रो पार्टीमा समाहित भएको छ अरुसँग पनि एकता हुनेछ । यो आधारशीलामा टेकेर हामी नयाँ विचार, दृष्टिकोण र कार्यक्रम सहित जाने छौँ ।