बैशाख ४ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिचार र कार्यकर्ताको समर्थनका कारण आफू ३६ वर्षदेखि निरन्तर नेतृत्वमा रहेको बताएका छन् ।
बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै अहिले ७१ वर्षको उमेरमा पनि आफू बिहान ५ बजेदेखि बेलुका राति सम्म खटेर काम गरीरहेको भन्दै यसरी खट्ने नेताहरु देखाउन चूनौती दिए ।
म हटेपछि गणतन्त्र सुदृढ हुन्छ, राम्रो हुन्छ भन्ने ग्यारेन्टी छ ? प्रचण्डले टिप्पणी गरे ।
उनले राजतन्त्र बंशवादमा आधारीत भएको र त्याहाँ कुनै नेतृत्व क्षमता प्रदर्शन गर्नु नपर्ने भएकाले नै त्यो बेठिक छ भनिएको बताए । तर गणतन्त्रमा जनताद्धारा नै निर्वाचित व्यक्ति राष्ट्रपति प्रधानमन्त्री हुने भएकाले गलत गरेमा जनताले राम्रो नेतृत्व चुन्ने अवसर पाउने बताए ।
उनले अहिलेको सरकार दुई तिहाईको नभएर षड्यन्त्रको सरकार भएको र यो ढल्छ भन्ने कुरा काँग्रेस एमालेका नेताहरुसँगको संवादका आधारमा आफूले बोलेको बताए ।
यो सरकारबाट जनता निराश मात्र भएको प्रचण्डको टिप्पणी छ ।