राजावादीले तीनकुनेस्थित घरमा आगो लगाउँदा लाइभ गर्न पुगेका पत्रकारको जलेर मृत्यु

राजावादीले तीनकुनेस्थित घरमा आगो लगाउँदा लाइभ गर्न पुगेका पत्रकारको जलेर मृत्यु

  • शुक्रबार, चैत्र १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

चैत्र १५,काठमाडौँ । राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ । राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेपछि सो क्रममा फोटो भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।

एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन नसकेको उनले बताए ।

हामी प्रदर्शनको भिडियो खिच्न सँगै घरमाथि चढेका थियौं । उनी छेउको चारतले घरमा थिए । हामी पाँचतले घरमा थियो, ह्वाइटखबर डटकमका सम्पादक विक्रम श्रेष्ठले भने,’ ढुंगामुढा समेत हुन थालेपछि हामी भाग्यौं तर सुरेश निस्कन सकेनन् ।’

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरे ।

राजावादीको आन्दोलनका क्रममा शुक्रबार तीनकुनेमा प्रहरीसँगको झडपमा परी घाइते भएका ७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्राप्त जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा ५ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २ घाइतेको उपचार जारी छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जका प्राडा मोहनचन्द्र रेग्मीका अनुसार गोली लागेका ५ जना घाइतेको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनले ती सबैको कम्मर मुनिको भागमा गोली लागेको र अवस्था स्थिर रहेको बताए ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार त्यहाँ पनि गोली लागेका दुई जना घाइतेको उपचार भइरहेको छ । तीमध्ये पेटमा गोली लागेका एक जनाको अवस्था भने चिन्ताजनक रहेको छ । उनको आकस्मिक शल्यक्रिया भइरहेको निर्देशक रिजालले बताए । ट्रमा रहेका अर्का एक जनाको भने कुममा उपचार गोली लागेको छ ।

प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो । प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।

काठमाडौंको तीनकुनेमा प्रहरीमाथि ढुंगामुढा र निजी घरहरूमाथि तोडफोड र आक्रमणपछि शुक्रबारका लागि तय भएको राजावादीको सभा बिथोलिएको छ । विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी