चैत्र १४ काठमाण्डौँ । समाजवादी मोर्चाले भ्रष्टाचार बिरुद्धको खबरदारी, प्रतिगामी र यथास्थितिवादी षड्यन्त्रको भण्डाफोर गर्न भन्दै चैत्र १५ गते शुक्रबार एक लाख जनता सडकमा उतार्ने निर्णय गरेको छ ।
यसका लागि मोर्चाले बैठक बसेर मोर्चामा आवद्ध दलहरुलाई कोटा विभाजन गरेको छ । जस अनुसार माओवादी केन्द्रले ५० हजार, एकीकृत समाजवादीले २५ हजार, नेकपाले १५ हजार र नेसपाले १० हजार संख्यामा मानिस उतार्नु पर्नेछ ।
सो अनुसार सम्बन्धित पार्टीहरु सक्रिय भएर खटिरहेका छन् ।
प्रतिगमनको षड्यन्त्रलाई परास्त गर्न राजधानीका विभिन्न सडकबाट शान्तिपूर्ण र्याली निस्कने र त्यसपछि भृकुटीमण्डपमा सभाको आयोजना गरिने माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सभामा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहितका नेताले संवोधन गर्नेछन् ।