जनकपुर माघ २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र परिवर्तन नै खारेज होस् भन्ने चाहना भएको मान्छे भएको टिप्पणी गरेका छन् ।
आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संविधान खारेज गर्ने उदेश्यकै निम्ती उनले यस अघि दुई दुई पटक संसद विघटन गरेको दाबी पनि गरे ।
प्रचण्डले भने ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’
उनले अहिले सरकार बनाउने र ढाल्ने खेलमा आफ्नो पार्टी नलाग्ने भन्दै अब संगठन सुदृढिकरण र पार्टी विस्तारका लागि आफूहरुको ध्यान जनतामा गएको बताए । ओली रहँदा सम्म वामपन्थी एकता संभव नभएको भन्दै प्रचण्डले अहिले तत्काल सत्ताका लागि काँग्रेससँग समेत सहकार्य नहुने स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले सरकारले गलत नियतले संसद बोलाउने बेलामा विभिन्न अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभाबाट पारित नहुने विस्वास व्यक्त गरे ।
राष्ट्रिय सभामा पारित हुन उपेन्द्र यादव नेतृत्वको जसपाको तीन सांसद अनिवार्य रहेकाले यादवले सत्ताका लागि मुद्धा छाडेर अध्यादशको पक्षमा मत नदिने कुरामा आफूलाई विस्वास लागेको पनि बताए ।