पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान सुरु भएको छः प्रचण्ड

पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान सुरु भएको छः प्रचण्ड

  • मङ्लबार, माघ २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उहाँले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताउनुभयो । ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’
पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उहाँले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताउनुभयो । ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं । हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ । ८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशब्यापी अभियानमा हिडेको छु र अब चाँडै सिंगो पार्टी पंक्ति देशव्यापी अभियानमा जुट्ने छ ।’
आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको बताउनुभयो । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको पनि उहाँले स्पष्ट गर्नुभयो ।
नेपालको असंलग्ल परराष्ट्र नीतिलाई थप मजबुत बनाउन आफूले छिमेकीदेखि अन्तर्राष्ट्रिय स्तरमा पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मैले भारत भ्रमण गर्दा पहिलोपटक भारतीय प्रधानमन्त्रीले आफ्नै मुखबाट सिमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत विक्री गर्ने र भारतहुँदै बंगलादेशसम्म विद्युत विक्री ऐतिहासिक सम्झौता भयो, यी काम नेपालको इतिहासमा पहिलोपटक भएका हुन् ।’
आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठ वटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराउनुभयो । आफूले संयुक्त राष्ट्रसंघको महासभा, विश्व खाद्य सम्मेलन र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट स्पष्ट दृष्टिकोण राखेपछि यसले विश्वब्यापी प्रभाव छाडेको स्मरण गराउँदै उहाँले आफ्नो एउटा निमन्त्रणाको आधारमा संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आएर विश्व समुदायलाई सम्बोधन गर्ने घटना नेपालका लागि ऐतिहासिक परिघटना भएको बताउनुभयो ।
आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले अहिलेको सरकार संविधान र लोकतान्त्रिक भावनाविपरीतको सरकार हो भन्ने जनतामा स्थापित हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ ।’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई समेत जानकारी नगराएर रातको ११ बजेपछि बिचौलिया र दलालहरुको घरमा बैठक बसेर बनाएको सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्दैन भनेर आफूहरुले सुरुदेखि भन्दै आएको र यो क्रमशः पुष्टि पनि हुँदै गएको स्पष्ट गर्नुभयो ।
आफूले पहिलो कार्यकालमा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वायन गरिएको, गरिब किसानलाई ऋणमुक्त गरिएको र मध्यपहाडी लोकमार्गलगायत महत्वपूर्ण पूर्वाधारको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराउनुभयो । ‘यी प्रतिनिधिमूलक कामबाट पनि जनताले प्रष्टै बुझेका छन् कि कसले जनताको पक्षको पक्षमा काम गर्छ र कसले जनताको विरुद्ध षड्यन्त्रका तानाबाना बुन्छ ?’– उहाँले प्रश्न गर्नुभयो ।
माओवादीले जनताको बलमा सरकार सञ्चालन गर्ने अवसर पाउँदा नमूना काम गर्ने गरेको उल्लेख गर्दै देशभरिका स्थानीय तहमा २५ उत्कृष्ट पालिकामध्ये पहिलो, दोस्रो र तेस्रो स्थानसहित ११ वटा माओवादीले नेतृत्व गरेका पालिका आएको बताउनुभयो । अब पार्टीले स्थानीय तहबाटै समाजवादको अभ्यास गर्ने नीति लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै तहमा सडक, सदन र सरकारबाट जनताको सेवामा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ