प्रतिनिधिसभामा छवटा अध्यादेश पेश: शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने

प्रतिनिधिसभामा छवटा अध्यादेश पेश: शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने

  • शुक्रबार, माघ १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १८ माघ : प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुभयो ।

सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत् ती थ्यस्थाहरू संशोधन गर्नुपरेको उहाँको भनाइ छ । त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गर्नुभएको छ ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण् मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुभएको हो ।

आजको बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गाना, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, पूर्वसांसदहरू प्रेमलाल सिंह (पिएल सिंह) र रामजीप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

पूर्वसभामुख ढुङ्गानाको गत मङ्सिर २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, संविधानसभा सदस्य सिद्धिकीको गत मङ्सिर ३ गते ६० वर्षको उमेरमा र पूर्वसांसद पिएल सिंहको गत पुस १ गते ८८ वर्षको उमेरमा निधन भएको थियो । यस्तै, संविधानसभा सदस्यसमेत रहनुभएका शर्माको यही माघ ७ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।

सभाले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सभाले तीन जना सांसदको संसदीय समितिमा जिम्मेवारी थप तथा हेरफेर गरेको छ । सांसद रञ्जिता श्रेष्ठलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा जिम्मेवारी तोकिएको छ ।

सांसद कल्पना चौधरीलाई पूर्वाधार विकास समितिबाट अर्थ समिति र सांसद दुर्लभ थापालाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट अर्थ समितिमा जिम्मेवारी तोकिएको छ । प्रतिनिसभाको अर्को बैठक यही माघ २४ गते दिनको १ बजे बस्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ