माघ १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नगर्ने र गर्न नदिने काममा लागेको दाबी गरेका छन् । संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती समेत दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘हावादारी कुराहरू बजारमा छरेको पाइयो । स्विजरल्यान्डको बैंकमा यति डलर श्रीमतीका नाममा लुकाएर राखेको छ । टेलिकममा यति लुकाएर राखेको छ । तिनै कराइरहेका सुन भनेर पित्तल चढायो भनेर छानबिन गराउने मान्छेहरू छन् । यस्ता हावादारी कुरा गरेको देख्दा सरकारका काममा आलोचना गर्ने ठाउँ रहेनछ।’
त्यस्तै आफू र परिवारका सदस्यले भ्रष्टाचार गरेको भनेर कपोलकल्पित तरिकाले भ्रम फैलाइएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘दुनियाँको अघि उभिएर भन्न चाहन्छु । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै मात्रामा, कुनै पनि ठाउँमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् । सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु । प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ । सरकार गल्ती गर्दैछ भनेर । तर चरित्र हत्या गर्ने गर्न लागि यस्ता झुठा, कपोकल्पित, निराधार हुनै नसक्ने अफवाह फैलाउनु यो संसदीय प्रणाली, लोकतान्त्रिक प्रणाली र हाम्रो राजनीतिक दलहरूको मर्यादा गरिमाविपरीत छ ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार २०८४ सालसम्म कुनै पनि हालतमा नढल्ने पनि दाबी गरे । विपक्षी दलहरूलाई सरकार ढल्नै लाग्यो भनेर गीत नगाउनसमेत आग्रह गर्दै प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको आयु पूरा भएको भनाइलाई खण्डन गरेका हुन् । माओवादी अध्यक्ष दाहालले केही दिनयता सरकार चाँडै नै ढल्ने बताउँदै आएका छन् । ‘हामीले केही नगरे पनि यो सरकार ढल्छ, हामी हिँड्दा हिँड्दै ढल्छ, कसैले केही गर्नै पर्दैन,’ पछिल्लो समय दाहालले भन्ने गरेका छन् ।
‘म त ढलेँ ढलेँ ढलेँ ढलेँ’ गीतको सन्दर्भ ल्याउँदै प्रधानमन्त्री ओलीले भने, ‘विपक्षीमा रहेका साथीहरूले व्यर्थ खेर फालेको जस्तो लागेको छ । एउटा गीत बजारमा ढलेँ ढलेँ भन्ने प्रचारमा छ । राजनीतिक नेताहरूले त्यस्तै गाएको सुन्छु, आजै ढल्यो, भरे ढल्यो, ढल्यो, ढल्यो, ढल्यो । यो गीत राजनीतिका मञ्चमा सुहाउँदैन । मनारेञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ ।’
अर्को निर्वाचनसम्मै कांग्रेस एमाले सरकार टिक्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले अगाडि भने,०८४ सम्म सरकार टसमस गर्नेवाला छैन । दिनरात यस्ता हल्ला गरेर तीन वर्ष बिताउनु जनता र देशका लागि के फाइदा ?