प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस र एमालेले देशमा राजनीतिक स्थीरताको बलियो आधार बनाउने दाबी गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा भन्दा लोकतन्त्रका पालामा देशको विकासले गति लिएको दाबी पनि गरे ।
ओलीले भने, ‘राम्रो प्रणाली नभईकन विकास हुँदैन। काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन। देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ। सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन। नेपाली कांग्रेस र नेकपा (एमाले) ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्। ’
प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसीयूमा रहेका बेलाका तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भने, ‘मलाई रुघाखोकी लागेको हो। एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसीयूकक्षकमा बसेको फोटो आइहाल्छ। खोक्न पाएको छैन आइसीयुमा बसेको देखाउँछन्।’