माघ ७ काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमा जान तयार भएको बताएपछि सो समुहका बहुमत केन्द्रीय सदस्यहरुले अभियान परित्याग गरेका छन् । उनीहरुले माओवादी केन्द्र सहित बिचार मिल्ने शक्तिसँग एकता गर्ने पनि घोषणा गरेका छन् ।
यसपछि गौतम नेतृत्वको राष्ट्रिय अभियानका उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले पत्रकार सम्मेलन नै गरेर अभियान परित्यागको घोषणा गरेका हुन् ।
अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज पनि हुन्। उनीसँगै अभियानका कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोसी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवबाट छुट्टिँदै नयाँ यात्राको घोषणा गरेका हुन्।
उनीहरूले माओवादी केन्द्रलगायत वामपन्थी दलसँग वार्ता गर्ने निर्णय गरेका छन्। त्यसका लागि उनीहरूले अर्यालको संयोजकत्वमा ४ सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन्। समितिमा काफ्ले, सुब्बा र भट्टराई सदस्य छन्।
यसअघि वामदेवले पुस १७ गते नेकपा एकीकृत समाजवादीसँग एकताको समझदारी गरेका थिए। यसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सैद्धान्तिक सहमति भइसकेको समेत बताएका थिए।
तर अहिले एकाएक वामदेवले एमालेमा मिल्ने घोषणा गरेपछि समुहका सदस्यहरु उनीबाट अलग भएका हुन् ।