धनगढी । नेकपा एमालेको कारबाहीपछि नयाँ राजनीतिक अभियानमा लागेका भीम रावललाई कैलालीको धनगढीमा स्वागत गरिएको छ ।
आज धनगढी पुगेका नेता रावललाई उनका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गरेका छन् ।
उनको पक्षमा जिन्दावादका नारा लगाएका उनका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका थिए ।
भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ ।
उनी त्यसपछि गृहजिल्ला अछाम जानेछन् । एमाले अध्यक्ष ओलीले एमालेबाट निष्कासन गरेपछि उनले काठमाण्डौँमा पत्रकार सम्मेलन गरेर ओलीको भण्डाफोर गरेका थिए ।
एमाले भित्र रावल सुदुरपश्चिमका प्रभावशाली नेता मानिएका थिए । उनलाई निष्कासन गरेपछि सुदुरपश्चिममा असर पर्ने भन्दै कार्बाहीबारे पुनविचार गर्न नेताहरुले माग गर्दै आएका छन् ।