पुष १८ काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकार असफल भइसकेको ठहर गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले सरकार असफल भएको निष्कर्ष निकाल्दै सरकार शुसासनको बिरुद्ध उभिएको, माफिया र भ्रष्टाचार गर्नेहरु र बिचौलियाहरुको संरक्षणमा लागेको माओवादी प्रवक्ता अग्नी सापकोटाले बताए ।
राम्रो काम गर्नेलाई हटाउन खोज्ने र भ्रष्टाचारलाई पक्षपोषण गर्ने काम भइरहेको सापकोटाले बताए । ‘विद्युत प्राधिकरणमा राम्रो काम भइरहेको छ । त्यसको नेतृत्वलाई निकाल्न खोज्ने, अदालतले दोषी ठहर्यााएको मान्छेबाट दान लिनेजस्ता कुरा प्रथम दृष्टिमै भ्रष्टाचारलाई पक्षपोषण गर्ने कुरा हुन्छ’, उनले भने ।
‘अरुकालाई चाहिँ छानी कारबाही गर्ने, छानीछानी पक्रने, आफ्नालाई चाहिँ जोगाउने,’ सापकोटले भने, ‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सीधैं सहकारीमा जोडिएको कुरा छ, कारबाही नै छैन । एमालेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ ।’
बैठकले जनताका चाहना र आवश्यकता बुझ्न ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। देश गहिरो संकटमा पर्न लागेकाले अग्रगामी विचारसहित जनतालाई सुसूचित गर्ने र रुपान्तरणको महान् प्रक्रियामा जाने गरी अभियान सञ्चालन गर्ने निर्णय भएको सापकोटाको भनाइ छ।
यो ६ महिने अभियान तराईमा हुलाकी राजमार्ग र मदन भण्डारी लोकमार्ग क्षेत्रमा देशभरी गर्ने पनि बैठकले निर्णय गरेको छ ।