सहकारी ठगीमा फरार रहेकी आफ्ना श्रीमतीका जागिर जोगाउन लेखा समितिका सभापति पोखरेलले दबाब दिएको खुलासा

सहकारी ठगीमा फरार रहेकी आफ्ना श्रीमतीका जागिर जोगाउन लेखा समितिका सभापति पोखरेलले दबाब दिएको खुलासा

  • बुधबार, पुस १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

विराटनगर, काठमाडौँ । उमा–गौरी कृषि सहकारीको बचत ठगी मुद्दाकी फरार अभियुक्त अञ्जला कोइरालाको उनले पढाउँदै आएको विद्यालयमा बिदा थप्न संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका श्रीमान् ऋषिकेश पोखरेलले दबाब दिएका छन् । उनले स्कुललाई ईमेल लेखेर अनिश्चितकालीन विदा स्वीकृत गर्न दबाब दिएको हुन् ।

अदालतले पक्राउपुर्जी जारी गर्नुअघि देखि ‘फरार’ रहेकी उक्त सहकारीकी पूर्व सञ्चालक कोइरालासहित २६ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोबमोजिम जरिवाना गरी ६ देखि ८ वर्षसम्म कैदसजाय माग गर्दै मुद्दा दायर गरेको छ । अञ्जला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् ।

तर विद्यालयले पोखरेलको दबाब बमोजिम बिदा स्वीकृत भने गरीसकेको छैन ।

उमा–गौरी कृषि सहकारी संस्थाको बचत ठगीमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मंसिर २७ मा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसै दिनदेखि फरार अभियुक्तका रूपमा रहेकी उनी मुद्दा दायरपछि पनि केही दिन विद्यालयमा उपस्थित थिइन् । उनीसहित थप १६ जनाविरुद्ध मोरङ जिल्ला अदालतले पुस २ मा पक्राउपुर्जी जारी गरेको थियो । पक्राउपुर्जी जारी हुनु अघिल्लो दिनदेखि पाँच दिनको बिदा स्वीकृत गरी बसेकी थिइन् । विद्यालयले मंसिर २८ मा आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड कार्यक्रममा पनि उनी उपस्थित थिइन् ।

उमा–गौरी सहकारी ठगीमा तत्कालीन सञ्चालक तथा पदाधिकारी अञ्जला कोइरालाका साथै रोशन राजवंशी, शम्भुप्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बास्कोटा, सुमन लोहनी, मित्रप्रसाद शिवाकोटी, शरदराज सिंह, मो। नसरुदिन, मनोजकुमार सोनी, यशोदाकुमारी राजवंशीलाई बिगोबमोजिम जरिवाना र कैदसजाय माग गरिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा कात्तिक १४ मा सहकारी कार्यालयको ताला फोडेर प्रमाण संकलन गरेको थियो । त्यसयता कार्यालय बन्द छ । संसद्को सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा सांसदहरूले सभापति पोखरेलको राजीनामा माग गरेका थिए । तर पोखरेलले कानुनलाई सहयोग गर्ने बताउँदै रक्षात्मक जवाफ दिएका थिए ।

सहकारी ठगीमा श्रीमती फरार रहेको स्विकारेका पोखरेलले भनेका थिए, ‘मेरी श्रीमती फरार छिन्, कानुनी प्रक्रियाका लागि म तयार छु ।’ फरार श्रीमतीलाई विद्यालयमा बिदा मागसहितको पत्र पठाएपछि पोखरेलको भूमिकामाथि थप प्रश्न उठेको सहकारीपीडितको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ