‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔँ’

‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔँ’

  • बिहिबार, पुस ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ४ पुस : प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरि रुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्ट रुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले सिंहदरबारमा ‘अत्तिरिक्त समूह’ र कायम मुकायम ‘कामु’ मा कर्मचारी राख्नेलाई कारबाही गर्नुपर्ने सुझाव दिए ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चान र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले कर्मचारीको सङ्घीय राजधानी, सिंहदरबारभित्रै एक मन्त्रालयबाट अर्को मन्त्रालय र आसपासकै कार्यालयमा सरुवा हुने तर दुर्गममा जान नमान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिए । कतिपय निजामती कर्मचारीको एक वर्षको अवधि पूरा नहुँदै सरुवा भइरहने र त्यसको असर कार्यसम्पादनमा पर्ने गरेको उहाँहरुको भनाइ छ ।

संशोधनकर्ता सांसद मीना तामाङले निजामती कर्मचारी व्यवस्थापनबारे भन्नुभयो, “तीन तीन महिनाभित्र सरुवा भइरहेको छ । कुन मन्त्रालयमा कुन सचिव कार्यरत हुनुहुन्छ, चिन्न गाह्रो छ”, उहाँले भन्नुभयो, “सबै तहका कर्मचारी कम्तीमा एक ठाउँमा एक वर्ष बस्नैपर्ने व्यवस्था गरौँ ।”

सांसद रामकुमार राईले दुर्गम क्षेत्रमा जाँदै नजाने कर्मचारीलाई बाध्यात्मक टिप्पणी खुलाई अनिवार्य जानुपर्ने व्यवस्थाको माग गर्नुभयो । अर्का संशोधनकर्ता सुशीला श्रेष्ठले निजामती कर्मचारीको सबै तहमा महिलाको सहभागिताका लागि संशोधन प्रस्तुत गर्दै सरुवा र बढुवा व्यवस्थित बनाउन माग गर्नुभयो ।

“मन्त्री परिवर्तन हुने वित्तिकै कर्मचारी सरुवा र बढुवाको चलखेल सुरु हुनु भएन । काम गर्ने वातावरण दिने ऐन बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

छलफलमा संशोधनकर्ता अमरेशकुमार सिंहले काजमा काम गर्ने व्यवस्था हटाउन सुझाव दिनुभयो । “सरकार ‘इ गर्भनेन्स’ को अभ्यासमा छ । काठमाडौँ कर्मचारी आइरहनुपर्दैन । काजमा काम गर्ने व्यवस्था बन्द गरौँ”, उहाँले भन्नुभयो, “काम गर्ने दिनको ९० दिन नबस्नेलाई कारबाही गरौँ ।” उहाँले कर्मचारीको सेवा निवृत्तिको एक वर्षअघिसम्म बढुवा नगर्न सुझाव दिनुभयो ।

समितिले विधेयकलाई सङ्घीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटका साथ संशोधनकर्ता सदस्यहरुसँग दफावार छलफल अघि बढाएको छ । समितिको अर्को बैठक आइतबार बस्ने तय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ