वीरगन्ज मंसीर २६ । सहकारी ठगी मुद्धामा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पुनः पोखरा लगिने भएको छ । उनीसँग पर्सा प्रहरीले बयान सकेकाले आज पोखरा लान लागिएको हो ।
सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाका अनुसार लामिछानेलाई ५४ वटा प्रश्न गरिएको थियो ।
बयान सकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई कास्कीबाट सोमबार साँझ वीरगन्ज ल्याइएको थियो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कास्की प्रहरी हिरासतमा राख्ने म्याद बुधबार सकिने हुनाले बुधबार बेलैमा पोखरा पुर्याउने तयारी छ । सहकारी ठगीमै कास्की प्रहरी हिरासतमा रहेका छविलाल जोशी र रामबहादुर खनाललाई पर्सामा सोमबार बयान गराएर मंगलबार बिहान स्थलमार्गबाट पोखरा फिर्ता पठाइएको थियो ।