मंसिर १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ । उहाँले भुटानी शरणार्थी तेस्रो मुलुक हस्तान्तरणमा पहल गर्दा आफूमाथि छुद्र टिप्पणी भएको भन्दै दुःख समेत व्यक्त गर्नुभयो ।
इन्ट्रा फाउण्डेशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरणमा पहल गर्दा आफूमाथि छुद्र टिप्पणी भएको धारणा राख्नुभएको हो । उहाँले मावनीय दृष्टिले आफुले शरणार्थी शिविरमा कष्टकर जीवनयापन गर्दै आएका एक लाखभन्दा बढी भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न पहल गर्दा अकेन प्रकारका छुद्र टिप्पणी भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भुटानले नेपाली भएकै कारण नेपाली भाषीलाई देश निकाला गरेको उल्लेख गर्दै अब तेस्रो देशमा पुनर्स्थापना भएका नेपालीभाषी भुटानीलाई भुटानले शरणार्थीसमेत भन्न छाडेको बताउनु भयो । उहाँले तेस्रो मुलुक पुनर्स्थापना भएका भुटानी नागरिक योग्य र सक्षम भएको उल्लेख गर्दै आगामी दिनमा भुटानले दक्ष जनशक्तिको रुपमा पहिला लखेटेका नागरिकलाई फिर्ता बोलाउने पनि दाबी गर्नुभयो ।
उहाँले अहिले पनि शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए ।
नेपाली मुलका भुटानी अमेरिकी संस्था इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शिविरमा बाकी रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।