१३ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानको रुपमा भएको भन्दै आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।‘
बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यो उपचुनाव नेपाली जनता भ्रष्टाचारको पक्षमा कि भ्रष्टाचारविरोधी छन् भन्ने यो सर्वोच्च अदालत भएको बताए । उनले भने, नेपाली जनता भ्रष्टाचार विरोधीको पक्षमा छन् । भ्रष्टाचारी र भ्रष्टाचार विराधीको जनमतसंग्रह हो, ‘कीर्तिपुर भ्रष्टाचारविरोधी नगर हो । कीर्तिपुरको पहिचान इतिहास, त्याग, बलिदानको प्रतिकको रुपमा चिनिन्छ ।’
उनले कांग्रेस एमाले गठबन्धन अप्राकृतिक भएको आरोप लगाउँदै सरकारले सुशासनको मुद्दा छाडेको बताए । ‘यो सरकार अप्राकृतिक छ । कुनै पनि लोकतान्त्रिक देशमा पहिलो र दोस्रो पार्टी बनेर सरकार बनाउने चलन छैन । भारतमा बीजेपी र कंग्रेस मिलेर सरकार बनाउँदैनन्, भ्रष्टाचारी, विचौलियाको रक्षा गर्नुपर्यो भनेर अप्राकृतिक रुपमा जसरी सरकार बन्यो’प्रचण्डले भने ।
उनले प्रतिपक्ष दलले संसद्बाट खबरदारी गर्ने उल्लेख गर्दै आवश्यक परे आन्दोलनमा जाने चेतावनी दिदै भने, ‘जरुरी पर्यो भने एउटा नयाँ आन्दोलनतिर जानेछौं । खबरदारीको सरकारले सुनाइ गरेन भने प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौं, त्यहाँबाट आन्दोलन छेडिनेछ । हरेक पालिकाबाट देशव्यापी रुपमा अभियान चलाउन बाध्य हुनेछौं ।’
साथै प्रचण्डले मंसिर १६ गते हुने उपनिर्वाचन ०८४ को निर्वाचनका लागि आँखिझ्याल बन्ने दाबी गरे । उनले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावबारे बोल्ने बताएका हुन् ।
‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ,’ प्रचण्डले भने ।
साथै, उनले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह गरे ।
‘हामी कसैको डर, धाक, प्रलोभन, लोभ लाचनमा नफसिकन एकचोटी विकास निर्माणको नयाँ अभियानमा अघि बढ्ने अवसर हामीसँग छ । कीर्तिपुरले फेरि एउटा रेकर्ड बनाउनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने ।
कीर्तिपुरका सांस्कृतिक पर्वहरू, सांस्कृतिक झांकी, बाजागाजाको संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको जिकिर गरे ।
‘यहाँका सबै सांस्कृतिक पर्वहरू, सांस्कृतिक झांकी, बाजागाजा यी सबै पनि कीर्तिपुरका मौलिक छन् । यसको संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ,’ प्रचण्डको भनाइ छ ।