काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताको महाधिवेशन आजबाट शुरु हुँदैछ ।
आज उद्घाटन सत्र न्युरोडस्थित भूगोल पार्कमा आयोजना गरिएको छ । एकता महाधिवेशन उद्घाटनपुर्व ११ बजे रत्नपार्क शान्तिबाटिका र त्रिपुुरेश्वरबाट जुलुस निकालिने छ । जुलुसको नेतृत्व पार्टीका शीर्ष नेतृत्वहरुले गर्ने सो पार्टीले जनाएको छ । त्रिपुरेश्वर र शान्तिबाटिकाबाट निकालिएको जुलुस सुन्धरामा मिसिएर भुगोल पार्कमा पुगेपछि ठिक १ बजे महाधिवेशनको उद्घाटन हुनेछ ।
पार्टी कार्यालय कुपण्डोलमा सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकले गरेको निर्णय अनुसार महाधिवेशनको उद्घाटन पार्टी संयोजक मोहन वैद्य किरणले गर्नेछन् ।
महाधिवेशनको सञ्चालन पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शन, अध्यक्षता सन्तबादुर नेपाली र स्वागत मन्तव्य पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवले गर्ने गरी कार्यक्रमको तालिका बनाइएको छ ।
सम्बद्ध स्रोतका अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको यो महाधिवेशनलाई शुभकामना दिन जर्मनी, भारत, बंगलादेश र टर्कीका कम्युनिस्ट पार्टीहरुबाट ९ जना अतिथिहरु आइसकेका छन् । त्यसैगरी नेपाालका मित्र पार्टीहरु मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, लोकनारायण सुवेदी नेतृत्वको नेकपा र नारायण शर्मा नेतृत्वको कम्युनिस्ट पार्टीलाई शुभकामनाका लागि निम्त्याइएको छ ।
बैठकले उद्घाटन सत्र समापन गरेपछि हुने सो क्षेत्रको फोहर पनि आफैले सफा गर्ने र सो कार्यका लागि काठमाडौ नगरपालिकाले पनि सहयोग गर्ने पनि स्रोतबाट जानकारी प्राप्त भएको छ ।
२०६९ सालमा प्रचण्डले क्रान्तिलाई धोका दिएको गद्धारी गरेको भन्दै पार्टी विभाजन गरेका मोहन बैद्यले १२ वर्षपछि नयाँ परिस्थितिमा के निर्णय गर्न सक्लान ? यो विषयमा सो पार्टीका नेताहरुले पुरानै नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने पुरानै लाईन पारित हुने संभावना रहेको दाबी गर्दछन् ।
यो महाधिबेशनमा पार्टीको आधिकारीक लाईनबाट १४ वटा दस्तावेजहरु र फरक मत सहित ५७ वटा दस्तावेजहरु प्रस्तुत हुने सो पार्टीका केन्द्रीय सदस्य ईन्द्र राउतले जानकारी दिए ।
पार्टी विभाजनको १२ वर्ष पुग्दा नत क्रान्ति न त शान्तिको विकल्पमा अलमलमा परेका बैद्यले भने जस्तो जनवादी क्रान्ति वा जनयुद्ध र कम्युनिष्टको नेतृत्वमा तत्काल ठूलो विद्रोहको संभावना नरहेको बुद्धिजीवीहरुको बुझाई छ ।
धेरैले अब विभाजनको औचित्य नरहेको भन्दै सबै पूर्व माओवादीहरु एक ठाँउमा उभिएर जानु पर्ने सुझाव दिए पनि बैद्य प्रचण्डसँग मिल्ने मनोविज्ञानमा छैनन् ।
वैद्यसँग सहकार्य गर्न नसक्ने भन्दै धर्मेन्द्र बास्तोला समुह यस अघि नै सो पार्टीबाट अलग भईसकेको छ ।
बैद्यसँगै रहेका बिप्लवले बैद्यले क्रान्ति गर्न नसक्ने भन्दै अलग्गै पार्टी बनाएर केही समय हिंशात्मक गतिविधि गरेपछि अहिले सो पार्टी खेती किशान र उत्पादनका कामलाई एकीकृत क्रान्तिको नारा दिएर अघि बढीरहेको छ । विप्लव निकट भविष्यमै माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा छन् ।
बैद्यसँगै रहेका बादल समुह एमालेसँग विलिन भएको छ । छिन्न भिन्न भएको यो अवस्थामा बैद्यले नयाँ परिस्थिति अनुसार पार्टीलाई बदल्नु पर्ने आवस्यकता देखिन्छ ।
उनले महाधिवेशनमा साना पार्टीहरुलाई निम्तो दिएका छन् । तर माओवादी, एमाले, समाजवादी कुनै पनि ठूला दललाई महाधिवेशनको उद्घाटनमा बोलाएका छैनन् । बैद्यलाई प्रचण्ड सहितका नेताले दार्शनिक गुरु मान्दै आएका छन् ।
यो स्थितिले बैद्यले नयाँ स्थिति अनुसार नयाँ निर्णय गराउन नसक्ने देखिएको छ ।
राष्ट्रियता र जनजीवीकाका मुद्धामा राप्रपा बाहेक दलसँग सहकार्य गर्न सकिने सो पार्टीका नेताहरुको भनाई छ ।
यो महाधिवेशन १० दिन सम्म चल्नेछ ।