सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि तत्काल अनुसन्धान थाल्न माग गरेका छन् ।
सहकारी छानबिन संसदीय समितिले कांग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएको भन्दै तत्काल कार्बाहीको दायरामा ल्याउन माग गरे ।
सोमवार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको दसैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने बताए।
उनले भने,‘सहकारीका अपचलन गर्ने सयौंको संख्यामा छन्। ती मान्छेमध्ये ५÷६ सय मान्छे अभियोजनको क्रममा छन्। अरु ५÷७ सय मान्छे फरार छन्। ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याउ। त्यो नयाँ होस् कि पुरानो होस कि। त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि। रुखको छायामुनि बसिराखेको होस् कि। सबैलाई अनुसन्धानमा ल्याउ। छानबिन समितिमा बकाईदा त्यही भन्छ। त्यसैले हामी भनिरहेका छौं सरकारलाई–यी सबै विषयहरुका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस्। आम नागरिकहरुको विश्वसनीयताको कुरा पनि हो।’