कार्तिक २ काठमाडौं । बिपक्षी दलहरुले सरकारले हालै आएको बाढी पहिरो र बिपत्तिमा परेका नागरिकहरुलाई उद्धार, राहत र पुनस्थापना प्रभावकारी रुपमा गर्न नसकेको बिषयमा छलफल गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको दलहरुको बैठकले सो विषयमा सरकारको ध्यानाकर्षण गराउन कार्तिक ५ गते ज्ञापन पत्र बुझाउने निर्णय गरेको माओवादी नेता शक्ति बस्नेतले जानकारी दिए ।
सरकार प्रमुख प्रतिपक्ष दलहरूले जनसरोकारका विषयमा उठाइएका आवाजहरूप्रति गम्भीर नभएको बस्नेतले बताए ।
उनले जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आह्वान गर्नुपर्ने परिस्थिति आउनसक्छ भन्नेबारे पनि बैठकमा छलफल भएको बताए।
समसामयिक राजनीतिक घटनाक्रम, मंसिरमा हुने उपनिर्वाचन,सरकारका कामकारवाहीलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलको बैठक बोलाएका थिए।
बैठकमा रास्वपा,राप्रपा,एकीकृत समाजवादी,जसपा, लोसपा लगायत दलहरूका शीर्ष नेताहरू सहभागी थिए। यद्यपि, लोसपा भने सरकारमा सहभागी छ ।